देशैभर आन्दोलनमा डाक्टरः पश्चिमाञ्चल अस्पतालमामात्रै दैनिक १५ सय बिरामी प्रभावित

santan ads

नेपाल चिकित्सक संघको आह्वानमा मंगलबार पनि देशभरका अस्पतालहरुमा ओपीडी सेवा बन्द गरिएको छ ।

उपभोक्ता अदालतले गरेका फैसललाले आफूहरू मर्कामा परेको भन्दै डाक्टरहरूले आन्दोलन गरिरहेका छन् ।

उपभोक्ता अदालतले दिएका पछिल्ला फैसलाहरूले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको तथा चिकित्सकहरूलाई हतोत्साहित पार्ने र असुरक्षित वातावरण सिर्जना गर्ने कार्य भएको भन्दै नेपाल चिकित्सक संघले सोमबारदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा रोकेका हुन्।

संघले आज माइतीघरमा उपस्थित भएर प्रदर्शन गर्नसमेत आह्वान गरेको छ । साथै, मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमै बुझाउन पनि संघले डाक्टरहरुलाई आह्वान गरेको छ ।

डाक्टरहरुको आन्दोलनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको बहिरंग सेवा बन्द हुँदा दैनिक १५ सय बिरामी प्रभावित बनेका छन् ।

बन्दको पहिलो दिन उपचारार्थ आएका धेरै बिरामी फर्किएको थिए । आजभने हिजोको तुलनामा कम सेवाग्राही आएपनि बन्दकाकारण अन्य अस्पतालतर्फ लागेका छन् ।

चिकित्सकको आन्दोलनबारे सर्वसाधारणले जानकारी नपाउँदा उनीहरुले सास्ती भोग्न परेको अस्पतालका अधिकृत एवं सूचना अधिकारी सुशिलकुमार अर्याल बताउँछन् ।

‘ओपीडीमा दैनिक १५ सयको हाराहारीमा बिरामी आउने गरेको डेटा छ’ अर्याल भन्छन् ‘आज साँझसम्म निकास ननिस्किए आन्दोलन लम्बिने संकेत छ ।’

गण्डकी प्रदेशकै ठूलो अस्पताल भएकाले सेवाबारे जानकारी लिएरमात्र आउन अर्यालले आग्रह गरे ।

आन्दोलनकाबीच इमर्जेन्सी र आइसीयूका सेवा निरन्तर भएपनि पश्चिमाञ्चल अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामी भने प्रभावित भएका छन् ।

यसबाहेक पोखराका ठूला मानिने गण्डकी मेडिकल कलेजमा सरदर १ हजार र फिस्टेल हस्पिटलमा ५ सय बिरामी ओपीडी सेवा लिन आउने गरेको तथ्यांक छ ।

Scroll to Top