बालश्रमविरुद्ध सार्वजनिक सुनुवाई, साझा अभियानमा जोड

santan ads

तीनवटै तहका सरकार,समाज र सामाजिक संघ÷संस्थाहरुको सामूहिक प्रयासलले मात्र सहरी क्षेत्रमा हुने निकृष्ट प्रकारको बालश्रम रोक्न सकिने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

श्रम क्षेत्रमा रहेका बालबालिकाहरुको पुनस्र्थापना,पारिवारिक पुनर्मिलन तथा अनौपचारिक/औपचारिक शिक्षाका कार्यक्रमहरु पनि सँगसँगै संचालनमा ल्याउनुपर्नेमा पनि उनीहरु एकमत देखिएका छन् ।

पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रले संचालनमा ल्याएका कार्यक्रमहरुको सामाजिक लेखाजोखा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै प्रमुख अतिथि, बालश्रमविरुद्धको अभियन्ता तथा स्वान्त सुखाय परोपकार प्रतिष्ठानका अध्यक्ष प्राडा कृष्णकुमार श्रेष्ठले बालबालिकाहरुलाई श्रममा नलगाउने वातावरण बनाउन र उनीह्रुलाई उचित शिक्षा दिँदा नै यो समस्या समाधान हुने धारणा राखे ।

स्वान्त सुखाय परोपकार प्रतिष्ठानले पोखरामा रहेका बालश्रमिकहरुका निम्ति अनौपचारिक शिक्षाका कार्यक्रम संचालन गरिरहेको छ ।

श्रम कार्यालय पोखराका प्रमुख उपसचिव सुरेश ढकालले कानूनले बालश्रम निषेध गरे पनि सहरी क्षेत्रमा विभिन्न बहानामा बालबालिकालाई काममा लगाउने गरिएको बताउँदै रोजगारदाता लक्षित सचेतना कार्यक्रमका साथै उनीहरुका अभिभावकलाई पनि दायित्ववोध गराउनुपर्ने बताए ।

उनले श्रमिक बालबालिकाको पारिश्रमिक, मानशिक र शारीरिक स्वास्थ्यबारे ख्याल नराख्नेहरु दण्डको भागिदार हुने बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले बालश्रम उन्मूलनको लागि गरेका कामहरुबारे चर्चा गर्दै यो अभियानमा सरकारी निकायहरुको सहयोग कम भएको गुनासो गरे । नजिकको सिंहदरबार भनिएको स्थानीय तहहरु सक्रिय हुने हो भने बालश्रम रोक्न सकिने उनको भनाइ थियो ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले कसैले कमजोर आर्थिक अवस्था रहेका बालबालिकाहरुलाई कसैले उचित हेरचाहसहित शिक्षा दिएको छ भने त्यसलाई बालश्रम मान्न नहुने र व्यवहारिक पाटो हेर्नुपर्ने धारणा राखे ।

पोखरा ४ की वडासदस्य पार्वती माकाजूले अभिभावकहरुको आर्थिक अवस्था कमजोर हुँदा बालबालिकाहरु पनि श्रममा जान बाध्य भएको बताउँदै यो समस्या निराकरणको लागि अभिभावकहरुको आर्थिक सवलीकरणमा ध्यान दिनुपर्ने बताइन् ।

शिक्षा महाशाखा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले पोखरामा पछिल्लो समय सडक बालबालिकाको संख्यामा कमी आएको बताउँदै बालश्रमविरुद्ध समाज एकजुट हुनुपर्नेमा जोड दिए ।

सामाजिक विकास केन्द्रका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले बालश्रम समाजको कलङ्क भएको बताउँदै सामाजिक विकास केन्द्रले अनेकौं समस्याका बाबजुद पनि विभिन्न कार्यक्रममार्फत् त्यसविरुद्ध अभियान संचालन गरिरहेको बताए ।

सार्वजनिक सुनुवाइ कार्यक्रमका सहजकर्ता भक्तराज रसाइलीका अनुसार सामाजिक विकास केन्द्रको अध्ययनबाट पोखरामा ३ सय २३ जना बालिकासहित १ हजार १ सय ४७ जना बालश्रमिक रहेको बताए । तीमध्ये वक्र्ससप,ग्यारेज र मेटल उद्योगमा काम गर्नेको संख्या करिब ६ सय ५० रहेको छ ।

वक्र्ससपमा काम गर्ने ती बालकहरु त्यहीँको सानो कोठामा सुत्ने, सामूहिक रुपले खाना खाने र मुख्य मिस्त्रीलाई सघाउने गरेको बताए । वक्र्ससपमा काम गर्नेहरु बालकहरुमध्ये अधिकांश भारतीय मुलका रहेका तथा उनीहरुलाई आफ्नै आमाबाले काम सिक्नको लागि ग्यारेज संचालकको जिम्मा लगाएर पठाउने गरिएको पाइएको उनको भनाइ छ ।

सामाजिक विकास केन्द्रले त्यस्ता बालबालिकाहरुलाई कार्यस्थलमै गएर अनौपचारिक शिक्षा दिने गरेको र त्यो कार्यक्रमलाई ग्यारेज र वक्र्ससप संचालन एवं बालबालिकाहरुले पनि प्रशंसा गरेको उनको भनाइ थियो ।

किडासाको सहयोगमा सामाजिक विकास केन्द्रले ग्यारेजमै पुगेर शिक्षा दिने,श्रमिक धेरै भएको बस्ती क्षेत्रका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्ने, अतिरिक्त कक्षा संचालन गर्ने एवं शैक्षिक सामग्री सहयोग गर्दै आइरहेको परियोजनाकी विजया अधिकारीले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै पोखरा महानगपालिकाको सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले सहरी क्षेत्रमा रहेका बालश्रमिकको अधिकार रक्षा महानगरको पनि दायित्व भएको स्वीकार्दै उनीहरुको अधिकार सुनिश्चित गर्न सक्दो प्रयत्न गर्ने बताइन् । अहिले नेपालमा बालमैत्री स्थानीय शासनको अवधारणा आएको छ । पोखरा महानगरपालिकाले पोखरालाई बालश्रम मुक्त बनाउने घोषणा गरिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीकी प्रहरी निरीक्षक एवं महिला तथा बालबालिका सेल प्रमुख सरला ढकालले कोही कसैले बालबालिकालाई श्रममा लगाएको पाइएमा प्रहरीले उनीहरुको उद्धार गर्ने गरेको बताउँदै बालश्रमबारेको सूचना आदान–प्रदानमा सहकार्य हुनुपर्ने धारणा राखिन् ।

सामाजिक विकास केन्द्रद्वारा संचालित रामघाट केन्द्रका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले श्रमिकहरुको बस्तीमा रहेका बालबालिकाहरुलाई कुलतबाट जोगाउन र उचित शिक्षा दिने अभियानमा सवैको सहयोग चाहिने बताए ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा पोखरा ८ की वडासदस्य पवित्रा केसी, शिक्षक प्रेमनारायण पोखरेलगायतले बालश्रमको समस्या बुझ्न श्रमिक भएको क्षेत्रमा नै पुग्नुपर्नेमा जोड दिएका थिए ।

Scroll to Top