पर्यटन र कृषिलक्षित अन्नपूर्णको ६५ करोड बजेट

santan ads

अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६५ करोड १५ लाख ३४ हजार ७ सय ७५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

उपाध्यक्ष चन्द्रकला अधिकारीले गाउँसभामा प्रस्तुत बजेट पर्यटन, कृषि, पूर्वाधार, सामाजिक रुपान्तरण र समावेशी विकासमा केन्द्रित छ ।

बजेटमध्ये २१ करोड ८२ लाख पुँजीगत र ४३ करोड ३२ लाख चालु खर्च छ । पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकता दिँदै गाउँपालिकाले समग्र विकासमा अघि बढ्ने लक्ष्य राखेको छ । आगामी वर्ष कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न ५५ लाख विनियोजन गरिएको छ ।

व्यावसायिक कृषिलाई प्रोत्साहन गर्न दुग्ध, चल्ला र पशुपालन क्षेत्रमा अनुदानको व्यवस्था गरिएको छ ।

पर्यटन प्रवद्र्धनका लागि होमस्टे व्यवस्थापन र सञ्चालनमा बजेट विनियोजन गरिएको छ भने अन्नपूर्ण हाट बजार तथा व्यापार मेला सञ्चालनका लागि ३ लाख छुट्याइएको छ ।

गाउँपालिकाले स्थानीय सांस्कृतिक कार्यक्रम, पर्व तथा महोत्सवहरू—जस्तै ढिकुरपोखरीमा तीज मेला, भदौरे कोदो महोत्सव, लुम्ले अन्नपूर्ण म्याराथन, घान्द्रुक हनी हन्टिङ प्रतियोगिता, फागु महोत्सव, शीतल गुफा महोत्सव आदिलाई समेत बजेट राखिएको छ ।

गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि ६० लाख, सडक, चक्रपथ तथा अन्य सडक पूर्वाधारमा ११ करोड १८ लाख ७२ हजार, वडा कार्यालय र स्वास्थ्य भवन निर्माणमा ७७ लाख, झोलुंगे पुलको दायित्व भुक्तानीमा ५० लाख विनियोजन गरिएको छ ।

आधारभूत अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि १२ लाख, स्वास्थ्य बिमा प्रिमियम वृद्धिसहित ८७ लाख, धान्द्रुक स्वास्थ्य चौकीमा ल्याब स्थापना, आयुर्वेद सेवा र योग अभ्यासका लागि छुट्टै बजेट छ ।

Scroll to Top