‘चेक बाउन्स’को मुद्धामा जेठ महिनामै समातिए ३५ जना

santan ads

नयाँलिपिः जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिनाको अवधिमा चेक बाउन्स (चेक अनादार)को आरोपमा ३५ जनालाई पक्राउ गरी मुद्दा अघि बढाएको छ ।

जिप्रकाको रेकर्डमा जेठ १ देखि मसान्तसम्म विभिन्न आरोपमा ५५ जना पक्राउ परे । जसमध्ये ३५ जना चेक बाउन्समा समातिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीभित्र उजुरी बोकेर भित्रिनेमध्ये ६० प्रतिशतको गोजीमा बाउन्स भएको चेक हुने गरेको छ ।

चेक बाउन्स ९चेक अनादर०को उजुरी प्रहरीमा गर्न मिल्ने र कारवाही प्रक्रिया अघि बढ्ने कानूनी प्रावधान सुरु भएपछि जिप्रका कास्कीमा दैनिक उजुरीको चाङ लाग्नु स्वभाविक भएको त्यहाँ कार्यरत प्रहरी बताउँछन् ।

पछिल्लो समय अपराधको तथ्यांकमा चेक बाउन्सको ग्राफ उकालिएको छ भने दैनिक १० जनाको हाराहारीमा पीडितहरु प्रहरी कार्यालय धाउन थालेका छन् ।

बैंकिङ् कसुर तथा सजाय ऐनले प्रहरीलाई अख्तियारी दिएपछि जिप्रका कास्कीमा यससम्बन्धी हेर्ने छुट्टै शाखा गठन गरिएको छ । शाखामा कार्यरत अधिकृत र कर्मचारीको व्यस्तता समेत चेक बाउन्सको उजुरीले ह्वात्तै बढाइदिएको छ ।

जिप्रकाका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार हाल अनुचित लेनदेन (मिटर ब्याज)को मुद्धासमेत जिल्ला प्रशासन कार्यालयबाट प्रहरीतिरै सारिएको छ ।

यसबाहेक हाल बैंकिङ कसुरको मुद्धामा पक्राउ पर्ने बढी छन् । कोरोनापछि प्रतिकुल आर्थिक अवस्थाकाकारण रकम लेनदेन र मिटर ब्याजको मारले उल्लेखित मुद्धा बढी पर्ने गरेको बस्नेत बताउँछन् ।

वैशाखमामात्रै कास्की प्रहरीले चेक अनादरको मुद्धामा ४३ जनालाई पक्राउ गरेको थियो ।

Scroll to Top