‘एउटा उत्ताउलो ठिटोले मलाई भाग्न हेलिकप्टर दिने रे !’ –प्रधानमन्त्री ओली

santan ads

दिपक के श्रेष्ठः प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई लक्षित गरी पोखरामा व्यंग्य कसेका छन् ।

केही दिनअघि संसदमा राप्रपा अध्यक्ष लिङदेनले जेठ १५ देखि राजतन्त्र पुनस्थापनार्थ आन्दोलन गर्ने र प्रम ओली बुढा भएकाले उनलाई देश छाडेर भाग्न हेलिकप्टर दिने अभिव्यक्ति दिएका थिए ।

सोही भनाईप्रति इंगित गर्दै प्रम ओलीले उनलाई ‘उत्ताउलो ठिटो’को संज्ञा दिएका हुन् ।

राष्ट्रिय युवा संघ नेपालको पोखरामा सुरु भएको १० औं राष्ट्रिय महाधिवेशनको शुक्रबार उद्घाटनकाक्रमम ओलीले भने ‘मान्छे त म ठ्याक्कै चिन्दिन तर त्यो उत्ताउलो केटोले प्रधानमन्त्रीले भाग्ने तयारी गरुन्, भाग्नका लागि हेलिकप्टरको सुविधा दिन्छु रे !’

त्यस्ता दुष्प्रयास नगर्न चेतावनी दिँदै उनले भने सपना पनि कस्ताकस्ता देख्न थाले । यस्ता दुष्प्रयास रोक्न, प्रतिगमनविरुद्ध हरेक अग्रभागमा युवासंघ लाग्नुपर्ने उनको भनाई छ ।

‘तपाई युवाहरु तयारीवस्थामा रहनुहोला’ ओलीले भने ‘कुनैपनि बेला हामी त्यस्ता प्रयासलाई रोक्न उत्रनुपर्ने हुन्छ ।’

सोहीक्रममा उनले डा. जगमान गुरुङलाई पनि ज्योतिषि काम गर्दै हिँडेको बताएका छन् ।

‘सरकारले उनलाई प्राज्ञ मानेर जुन जिम्मेवारी दिएका थियौं, पछि त हात हेर्दै हिँड्न थाले’ उनले भने ‘ज्ञानेन्द्रको हात हेरेर राजा हुने समय आएछ रे !’
ओलीले भने ‘मेरो पनि हात हेर्नुंहोस् को राजा हुन्छ, थाहा पाउनु हुन्छ ।’

अधिवेशनको उद्घाटन अमरसिंह चौरमा भएपनि अधिवेशनका बाँकी क्रममा सभागृहचोकस्थित पोखरा सभागृहमा हुनेछ ।

अधिवेशनमा देशभरका करिब १८ सय प्रतिनिधि पोखरा आउने क्रम जारी छ । ११ गतेसम्म चल्ने अधिवेशनले युवासंघको नयाँ नेतृत्व चयन गर्नेछ ।

नेतृत्वमा करिब आधा दर्जन उम्मेदवारले प्रतिष्पर्धा गर्ने अनुमान गरिएपनि अध्यक्ष क्षितज थेबे नै दोहोरिनसक्ने सम्भावना प्रबल छ ।

Scroll to Top