कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित

santan ads

नयाँलिपि: पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शिवलिङ्गले भक्तजनको ध्यान खिचेको छ।

रुद्राक्षका दानाबाट निर्मित शिवलिङ्ग र त्यसको आडैमा रहेको शिवको मूर्तिले पनि भक्तजनको आकर्षण केन्द्रित गरेको छ।

युवा–युवतीदेखि वृद्ध–वृद्धासम्म सबैको ध्यान अहिले शिवलिङ्ग र शिवमूर्तिमा केन्द्रित देखिन्छ। दर्शनका लागि मात्र नभई फोटो, भिडियो वा टिकटक बनाउन समेत शिवलिङ्ग अगाडि भीड लाग्ने गरेको छ। भक्तजनले पालो कुरेर फोटो खिच्ने, भिडियो बनाउने गरेका छन्।

महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार, उक्त शिवलिङ्ग एक करोड रुद्राक्षबाट निर्मित २१ फिट अग्लो छ।

त्यसैगरी आडैमा रहेको शिवको मूर्ति पनि २१ फिटको रहेको जानकारी दिए। त्यसैले पनि कोटिहोममा आएका भक्तजन शिवलिङ्ग र शिवमूर्तिसँगै फोटो खिच्दै जाने गरेका छन्।

तनहुँ दमौलीकी कामना क्षेत्री बुधबार कोटिहोम दर्शन गर्न आइन्। उनले कोटिहोम प्रवेश गर्नासाथ सबैभन्दा पहिला शिवलिङ्ग खोजिन् र दर्शनपछि कोटिहोमका अन्य स्थानहरू घुमिन्।

“घरमा टिभी हेर्दा शिवलिङ्ग देखेँ, अनि त्यत्तिकै बेलादेखि कोटिहोम पुगेर प्रत्यक्ष दर्शन गर्ने धोको थियो, जुन आज पूरा भयो,” उनले भनिन्।

पोखरा–१० अमरसिंहचोककी अर्को कामना क्षेत्रीले पनि सामाजिक सञ्जालमा शिवलिङ्ग देखेपछि कोटिहोम आएकी बताइन्। यस्तै प्रतिक्रिया अधिकांश भक्तजनको सुनिएको छ।

त्यसैगरी, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको निशान प्रतिमा र १०० कुण्डीय कोटिहोमको परिक्रमा गर्ने भक्तजनको पनि भिड लागेको छ।

Scroll to Top