दिपक के श्रेष्ठः हिमालपारीको जिल्ला भनेर चिनिने मनाङमा एउटै पनि एम्बुलेन्स छैन भनेको सुन्दा अचम्म लागेपनि सत्य यही हो ।
प्रतिकुल भूगोल तर प्राकृतिक सौन्दर्यकाकारण मनाङ पर्यटकीय क्षेत्र हो । यससँगै पर्यटनको उद्धार, स्थानीयलाई स्वास्थ्य सेवा दिन जिल्ला अस्पतालमै एम्बुलेन्स नहुँदाको पीडा महशुस गर्दै प्रमुख जिल्ला अधिकारी मातृका आचार्य यसैको जोहोमा जुटेका छन् ।
प्रशासन कार्यालयको जिम्मेवारी सम्हाल्न सुरु गरेको ८ महिनाको समय एम्बुलेन्सको जोहो गर्दैमा बितेपनि अझै योजना पुरा हुन सकेको छैन ।
करिब डेढ महिना अघि प्रदेश सरकारको एक कार्यक्रममा सहभागी हुन पोखरा आएका बेला प्रजिअ आचार्यले पहिलोपटक जिल्लामा एम्बुलेन्सको समस्या रहेकोबारे मुख खोलेका थिए ।
त्यसयता सोही आवश्यकता पुरा गर्न आइतबार प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग पनि उनले समस्या अवगत गराइसकेका छन् ।
यसअघि पनि एम्बुलेन्सको जोहो गर्न प्रयासै नभएको होइन भन्दै प्रजिअ आचार्य भन्छन् ‘गत आर्थिक वर्षमा बजेट पनि परेको रहेछ, तर कसैले पनि उपलब्ध गराउन चासो देखाएनन् ।’
करिब १९ लाख रुपैयाँ एम्बुलेन्स खरिदकालागि बजेट परेपनि काम नभएपछि फ्रिज भएको उनले सुनाए । सरकारले कर छूटमा चासो नदिएको र ठेकेदारले पनि उपलब्ध गराउन नचाहेको हो कि ! भन्ने उनको आशंका छ ।
‘१८-१९ लाख रुपैयाँको एम्बुलेन्सले हाललाई समस्या टर्ने थियो तर के कारणले हो खरिद हुन सकेन’ आचार्यले भने । अबको बजेटमा एम्बुलेन्स खरिद गर्न बजेट उपलब्ध हुने आशामा छन् सिडिओ आचार्य ।
‘मुख्यतयः एम्बुलेन्सजस्तो अत्यावश्यक सामग्रीको उपलब्ध गराउन संघ र प्रदेश सरकारनै लाग्नुपर्ने हो’ आचार्य भन्छन् ‘त्यसमाथि हिमाली जिल्लामा सरकारको बढी नै चासो हुनुपर्ने, तर भइरहेको छैन ।’
प्रमुख जिल्ला अधिकारीको हैसियतले समस्याको पहिचान गरी सरकारलाई जानकारी गराउनेबाहेकको अन्य भूमिका नहुने भएको भन्दै उनले आफ्नो कार्यकालमा एम्बुलेन्स जुटाउन पहल भइरहेको सुनाए ।
‘आइतबार जिल्लामै मुख्यमन्त्रीज्यूसँग भेट हुँदा समस्या अवगत गराएको छु’ उनले भने ‘उहाँले आश्वासन दिनुभएको छ, यस वर्षमा पक्कै एम्बुलेन्स आउनेछ ।’
भौगोलिक कठिनाईकाकारण सुत्केरी सेवा र विपद् उद्धारमा खटिन एम्बुलेन्सको विकल्प नभएको उनको भनाई छ । एम्बुलेन्स खरिद र सञ्चालनमा जतिसुकै खर्च लागोस् तर मान्छेको जीवनसँग तुलना गर्न नमिल्ने आचार्यको धारणा छ ।
नयाँलिपिसँग कुराकानीको अन्त्यमा सिडिओ आचार्य भन्छन् ‘मनाङलाई एम्बुलेन्सनै नभएको जिल्ला भनेर लागेको दाग मेटाउनु छ ।’
अघिल्लो आर्थिक वर्षको बजेट फ्रिज भएको र एम्बुलेन्स खरिद गर्न नसकेको कारणबारे जान्न खोज्दा मनाङका सांसद मुनिन्द्रजंग गुरुङसँग सम्पर्क हुन सकेन भने अर्का सांसद राजीव गुरुङ (दिपक मनाङ्गे) हाल कारागारमा सजाय भुक्तान गरिरहेका छन् ।