रास्वपाको बागथल बैठक: समस्या सुन्दै, योजना बनाउँदै

तनहुँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बन्दीपुर गाउँपालिका समितिको नियमित बैठक गाउँबस्तीमै पुगेर स्थानीयका समस्या सुन्ने र विकासका योजनाबारे जानकारी गराउने उद्देश्यसहित शनिबार बन्दीपुर गाउँपालिका–६ बागथलमा सम्पन्न भएको छ।

बन्दीपुर गाउँपालिका सभापति शम्भु श्रेष्ठको सभापतित्वमा सम्पन्न बैठकमा जिल्ला सचिव अनिल श्रेष्ठ, जिल्ला कोषाध्यक्ष सीता विक, क्षेत्रीय सभापति शशी रूपा खेती, पालिका समितिका सदस्य, वडा सभापति तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

बैठकमा स्थानीयवासीले आफ्नो क्षेत्रका विभिन्न समस्या, गुनासा तथा विकासका प्राथमिकताबारे जानकारी गराएका थिए। स्थानीयका समस्या प्रत्यक्ष रूपमा सुन्दै आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गर्ने तथा सम्बन्धित निकायसँग समन्वय र पहल गर्ने विषयमा छलफल भएको थियो।

बैठकमा संघीय सरकारबाट बागथल तथा आसपासका क्षेत्रका लागि परेका विकास योजनाहरूबारे समेत स्थानीयवासीलाई जानकारी गराइएको थियो। विशेषगरी खानेपानीका लागि १ करोड रुपैयाँ तथा धरमपानी–बागथल जोड्ने झोलुङ्गे पुलका लागि ४ करोड रुपैयाँको योजना परेको जानकारी दिइएको थियो।

पालिका सभापति शम्भु श्रेष्ठले खानेपानीका लागि विनियोजित १ करोड रुपैयाँको योजनाको काम सुरु भइसकेको जानकारी गराए।

उनले धरमपानी–बागथल जोड्ने झोलुङ्गे पुलको कामका लागि आवश्यक सर्वेक्षणको प्रक्रिया अघि बढ्न बाँकी रहेको जानकारीसमेत दिए। साथै, घुमाउने पुलको पछिल्लो अवस्थाबारे पनि स्थानीयवासीलाई जानकारी गराइएको थियो।

दुर्गम गाउँबस्तीमै पुगेर बैठक आयोजना गर्नुका साथै स्थानीयका समस्या सुन्ने र विकासका योजनाबारे प्रत्यक्ष जानकारी गराउने रास्वपाको पहलप्रति स्थानीयवासी तथा पार्टीका नेता–कार्यकर्ता उत्साहित देखिएका थिए।

रास्वपाले पार्टीका बैठक तथा छलफललाई पालिका केन्द्र र बजार क्षेत्रमा मात्र सीमित नराखी गाउँबस्तीमै पुगेर ‘स्थानीयका कुरा सुन्ने र विकासका योजना कार्यान्वयनमा सहजीकरण गर्ने’ अभ्यासलाई निरन्तरता दिएको जनाएको छ।

बागथल बैठकले स्थानीय आवश्यकता र विकासका प्राथमिकताका आधारमा संघीय सरकारबाट प्राप्त योजनाको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित पक्षसँग आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Scroll to Top