पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु सडक सम्झौताको समय सकिएको एक वर्ष पुग्दासमेत आधा काम हुन सकेको छैन ।
गत पुस १५ गते सक्नेगरी त्यसको तीन वर्ष अघि २०७९ पुस १५ गते सडक विस्तारको ठेक्का लगाइएको थियो ।
दुई पटक म्याद थप गर्दासमेत हालसम्म भुक्तानी प्रगति ४६ प्रतिशत मात्र भएको छ । आयोजनाको तेस्रो प्याकेजका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार भौतिक प्रगति ४८ प्रतिशत हाराहारी भएको छ ।
उनका अनुसार पहिलोपटक थप गरिएको १८३ दिनको म्याद सकिएर पुनः दोस्रो पटक २१० दिन थप गरिएको छ । यो समयमा पनि काम नसकिने भएपछि म्याद थप्नुपर्ने भएको छ ।
करिब ९५ किलोमिटर दूरी रहेको त्यस राजमार्गलाई पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन गरी खण्डमा छुट्याइएर स्तरोन्नतिको काम अघि बढाइएको थियो । तेस्रो प्याकेजअन्तर्गतको नागढुङ्गा–मुग्लिन सडक ३८ दशमलव ८६ किलोमिटर लामो छ ।
मिश्रका अनुसार हालसम्म १५ किलोमिटर कालोपत्र सम्पन्न भएको छ । तीन किलोमिटर बेस राखेर कालोपत्रको तयारी गरिएको छ । अरु पाँच किलोमिटरमा सववेस राखिएको छ ।







