नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिए पनि आफू भट्टीमा खारिएर स्टिल बनेर निस्केको बताएका छन् ।
शुक्रबार गृहजिल्ला अर्घाखाँची पुगेका नेता रायमाझीले आफू जेल बस्दा धेरै कुरा सिकेर निस्केको समेत बताए ।
‘भट्टीमा हालेर खरानी बनाउन खोजिएको थियो, भट्टीमा खारिएर स्टिल भएर आएको छु’, रायमाझीले देशमा के गर्नुपर्छ कसरी गर्नुपर्छ भन्ने कुरामा जेलबाट फर्किँदा आत्मविश्वास र शक्ति बढेको दाबी समेत गरे ।
‘हिजो आँट आउँथेन, आज आएको छ’, उनले भने, ‘देश विकास कसरी गर्नुपर्छ, देश कसरी उँभो लगाउने भन्ने शक्ति बढ्यो, सिकेर आएँ’, आफूले जेलभित्र बस्दा पनि समय खेर नफालेको भन्दै विश्वको राजनीति, विज्ञान र प्रविधिको अध्ययन गरेर पुराना पार्टीहरू नयाँ ढङ्गले चल्नुपर्ने बताए ।
रायमाझी भुटानी शरणार्थी प्रकरणमा जेल बसेका थिए । उनी गत कात्तिक अन्तिम साता थुनामुक्त भएका थिए ।







