क्रिकेटर रोहितले थाइल्याण्डमा सिम्रनसँग कसे लगनगाँठो

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा स्टार ब्याटर रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिएका छन् । उनले थाइल्यान्डमा आयोजित एक समारोहबीच प्रेमिका सिम्रन खड्कासँग लगनगाँठो कसेका हुन् ।

रोहितले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाहको तस्बिर सार्वजनिक गर्दै जीवनको नयाँ अध्याय सुरु भएको जानकारी दिएका छन् ।

‘सपना निर्माण गर्ने साझेदारदेखि जीवनको लागि साझेदारसम्म । यहाँ सँधैको लागि छ,’ उनले लेखेका छन् ।

रोहितको विवाहमा सहभागी हुन राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेसहित कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरालगायतका क्रिकेटर थाइल्यान्ड पुगेका थिए ।

विवाहको तस्बिर सार्वजनिक भएसँगै रोहित र सिम्रनलाई क्रिकेट समर्थक तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिइरहेका छन् ।

कम उमेरमै नेपाली क्रिकेटमा स्थापित रोहितको कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विभिन्न महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

यसअघि नेपाली क्रिकेटर करण केसीले पनि भारतको चण्डीगढमा प्रेमिका वर्षा बस्नेतसँग विवाह गरेका थिए ।

Scroll to Top