पोखराको लेकसाइड क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सञ्चालन गरिएको ‘अपरेसन सभ्यता’ अन्तर्गत प्रहरीले ८ जना र ११ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले पोखरा महानगरपालिका–६ लेकसाइड क्षेत्रमा बुधबार राति १ बजेदेखि बिहान ५ बजेसम्म अभियान सञ्चालन गरेको हो।
अभियानका क्रममा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ६ जना पुरुष र २ जना महिलासहित ८ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
त्यसैगरी, सवारीसाधन चेकजाँचका क्रममा ११ वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। तीमध्ये ७ वटा सवारीसाधनका चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको कसुरमा कारबाही गरिएको छ भने ४ वटा सवारीसाधन वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको छ।
पर्यटकलाई अनावश्यक दुःख दिने, दुर्व्यवहार गर्ने, झैझगडा गर्ने तथा अनैतिक र अवाञ्छित गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई निगरानी गरी नियन्त्रणमा लिन प्रहरीले ‘अपरेसन सभ्यता’ सञ्चालन गर्दै आएको छ।
प्रहरीका अनुसार हालसम्म यस अभियानअन्तर्गत ११९ जना पुरुष र १० जना महिलासहित १२९ जना व्यक्ति तथा ५०८ वटा सवारीसाधनलाई कारबाही गरिएको छ।







