सन् २०२६ मा विश्वका सबैभन्दा सस्ता पर्यटकीय गन्तव्यको सूचीमा नेपाल पहिलो स्थानमा परेको छ। हेलो सेफले १११ देशलाई समेटेर सार्वजनिक गरेको अध्ययनमा नेपाल विश्वकै सस्तो घुम्न सकिने देश बनेको हो।
अध्ययनअनुसार नेपालको काठमाडौंमा एक सातासम्म बस्न प्रतिव्यक्ति करिब ३३४ अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ। सूचीमा भारत दोस्रो स्थानमा छ।
भारतमा एक साताको बसाइका लागि प्रतिव्यक्ति ३३९ डलर खर्च हुने अनुमान छ। त्यस्तै, इजिप्ट ३७७ डलरसहित तेस्रो स्थानमा रहेको छ।
अध्ययनले तीनतारे होटलमा सात रातको बसाइ, खानपान र स्थानीय यातायात खर्चलाई आधार मानेर बजेट निर्धारण गरेको छ। काठमाडौंमा एक रात होटलमा बस्न औसत १८ डलर खर्च हुने अनुमान छ भने दैनिक खानपान र यातायातमा करिब ३० डलर खर्च हुने देखाइएको छ।
यस सूचीमा अन्तर्राष्ट्रिय हवाई टिकट, भिसा, बिमा तथा पर्यटकीय गतिविधिमा लाग्ने खर्च भने समावेश गरिएको छैन।
अध्ययनअनुसार नेपाल एसिया र दक्षिण एसियाकै सबैभन्दा सस्तो पर्यटकीय गन्तव्यका रूपमा समेत पहिलो स्थानमा रहेको छ।







