पोखराका कृषक र प्राविधिकद्वारा ललितपुरमा प्रविधि अवलोकन

पोखराका कृषकहरुले काठमाडौं र ललितपुरमा पुगेर कृषि तथा वातावरणमैत्री प्रविधिको अध्ययन अवलोकन गरेका छन ।

आधुनिक कृषि प्रविधि, वन संरक्षण, पानीका मुहानको पुनर्जीवन र वातावरणमैत्री खेती प्रणालीबारे व्यावहारिक ज्ञान दिने उद्देश्यले पोखराका कृषकहरुलाई प्राविधिक सहित स्थलगत अध्ययन अवलोकन गराइएको हो ।

पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाको आयोजनामा शनिबार र आइतबार भएको अवलोकन भ्रमणमा कृषक तथा कृषि प्राविधिक गरी ३५ जनाको सहभागिता थियो । भ्रमणका क्रममा सहभागीले अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीसँगै गोदावरीस्थित इसिमोडले विकास गरेको ज्ञान तथा सिकाइ केन्द्रका विभिन्न गतिविधि अवलोकन गरेका थिए ।

इसिमोडले गोदावरीमा वन संरक्षण, क्षयग्रस्त जमिनको पुनःस्थापना, पानीका मुहान संरक्षण, वर्षाको पानी संकलन, दिगो कृषि र वैकल्पिक ऊर्जासम्बन्धी प्रविधिको परीक्षण तथा प्रदर्शन गर्दै आएको छ । सहभागी कृषकले यी प्रविधिको प्रयोग, उपयोगिता र स्थानीयस्तरमा गर्न सकिने अभ्यासबारे जानकारी लिएका थिए ।

गोदावरीमा इसिमोडले कृषि उत्पादनसँगै प्राकृतिक स्रोतको संरक्षणलाई जोडेर विभिन्न नमुना अभ्यास , भिरालो जमिनमा खेती गर्ने प्रविधि, माटोको उर्वराशक्ति जोगाउने उपाय, प्राङ्गारिक मल उत्पादन, थोपा सिँचाइ, मौरीपालन, च्याउ खेती तथा फलफूल उत्पादनजस्ता गतिविधि गर्दे आएको इसिमोडका जम्बु शेर्पाले बताए ।

Scroll to Top