‘बदला’ र ‘चोट’ बोकेको सुदूर र ‘डिफेन्डिङ् च्याम्पियन’ लुम्बिनीबीच कसले उचाल्ला ट्रफी ?

दुई पटक फाइनल पुगेर पनि उपाधि उचाल्न नसकेको पीडा भुलाउने लक्ष्यमा सुदूरपश्चिम रोयल्स छ । उता, साविक विजेता लुम्बिनी लायन्स लगातार दोस्रो पटक उपाधि जित्दै एनपिएलमा आफ्नो दबदबा कायम राख्न चाहन्छ ।

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उपाधिका लागि शनिबार यी दुई टोली फेरि आमनेसामने हुँदैछन् । यसपटकको फाइनल दुवैका लागि प्रतिष्ठाको लडाइँ मात्र होइन, इतिहास बनाउने अवसरसमेत हो ।

एनपिएलको तेस्रो संस्करणको फाइनल खेल मंसिर ६ गते अर्थात् आज बेलुका पाँच बजेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । अघिल्लो संस्करणको फाइनलमा पनि यी दुई टोली भिडेका थिए । त्यतिबेला लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै पहिलो पटक उपाधि जितेको थियो । यसपटक सुदूरपश्चिमसँग त्यसको बदला लिने र पहिलो उपाधि जित्ने अवसर छ ।

जारी सिजनमा भने लुम्बिनी सुदूरपश्चिममाथि हाबी देखिएको छ । लिग चरणको पहिलो भेटमा लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले हराएको थियो । त्यसपछि पहिलो क्वालिफायरमा पनि ६ विकेटको जित निकाल्दै लुम्बिनी सीधै फाइनल पुगेको हो । उक्त खेलमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै आठ विकेटको क्षतिमा १०५ रन बनाएको थियो । जवाफमा लुम्बिनीले १६.४ ओभरमै चार विकेट गुमाएर लक्ष्य सहजै पूरा गरेको थियो ।

सुदूरपश्चिम भने पहिलो क्वालिफायरमा पराजित भए पनि उपाधि यात्राबाट बाहिरिएन । दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले हराउँदै उसले लगातार तेस्रो पटक एनपिएलको फाइनलमा स्थान बनायो । चितवनले दिएको १ सय ३४ रनको लक्ष्य सुदूरपश्चिमले अन्तिम ओभरको पाँचौँ बलमा सात विकेट गुमाएर पूरा गरेको थियो ।

जारी प्रतियोगिताको लिग चरणमा लुम्बिनीले सात खेलमध्ये पाँचमा जित, एकमा हार र एक खेलमा नतिजाविहीन हुँदै ११ अंकसहित शीर्ष स्थान हासिल गर्यो । सुदूरपश्चिमले पनि सातमध्ये पाँच खेल जित्दा दुई खेलमा हार बेहोरेको थियो । १० अंकसहित टोली अंकतालिकाको दोस्रो स्थानमा रह्यो । प्लेअफसहित फाइनलअघि लुम्बिनीले आठ खेलमा ६ जित निकालेको छ भने सुदूरपश्चिमले नौ खेलमा ६ जित हात पारेको छ ।

एनपिएल इतिहासमा सुदूरपश्चिम लगातार तीनवटै संस्करणको फाइनल पुग्ने एक्लो टोली हो । सुदूरपश्चिम पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग र दोस्रोमा लुम्बिनीसँग पराजित भएको थियो । तेस्रो प्रयासमा भने कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा टोली पहिलो उपाधिको खोजीमा छ । कप्तान ऐरीका लागि यो फाइनल विशेष महत्त्वको छ । जारी प्रतियोगितामा उनले ब्याटबाट पनि राम्रो योगदान दिएका छन् ।

पहिलो क्वालिफायरमा लुम्बिनीविरुद्ध ५२ रन बनाएका ऐरी लुम्बिनीविरुद्धको फाइनलमा पनि उत्कृष्ट प्रदर्शनको लक्ष्यमा हुनेछन् । लुम्बिनीका लागि भने कप्तान रोहित पौडेल, श्रीलंकाली ब्याटर निरोशन डिकवेला र अस्ट्रेलियाली अलराउन्डर डार्सी सर्ट मुख्य खेलाडी हुन् । पहिलो क्वालिफायरमा डिकवेलाले अविजित ५९ रन बनाउँदै टोलीलाई फाइनलमा पुर्याएका थिए । बलिङमा शेर मल्ल र रुबेन ट्रम्पलम्यानको प्रदर्शन टोलीका लागि महत्वपूर्ण हुनेछ ।

सुदूरपश्चिमतर्फ ऐरीसँगै स्कट कुगेलेइन, अनिल खरेल, इशान पाण्डेलगायतका खेलाडीहरु महत्वपूर्ण हुनेछन् । उनीहरुको व्यक्तिगत प्रदर्शनले पनि खेलको दिशा परिवर्तन गर्न सक्छ । कागजमा हेर्दा लिग चरणको प्रदर्शन, दुई आपसी जित र पहिलो क्वालिफायरको नतिजाका आधारमा लुम्बिनी केही बलियो देखिन्छ । तर, दोस्रो क्वालिफायरमा कठिन अवस्थामा पनि जित निकालेको सुदूरपश्चिमलाई कमजोर आँक्न मिल्दैन ।

फाइनलमा दबाब सम्हाल्ने क्षमता र खेलाडीको व्यक्तिगत प्रदर्शन निर्णायक बन्नेछ । दुवै टोलीका समर्थकका लागि पनि यो फाइनल उत्तिकै विशेष हुनेछ । लुम्बिनीका समर्थक लगातार दोस्रो उपाधिको प्रतीक्षामा छन् भने सुदूरपश्चिमका समर्थक तीन सिजनदेखिको प्रतीक्षाले पूर्णता पाउने आशामा छन् । अब हेर्न बाँकी छ, लुम्बिनीले आफ्नो ताज जोगाउँछ कि सुदूरपश्चिमले तेस्रो प्रयासमा इतिहास रच्छ ।

Scroll to Top