नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलको टिकट नपाएपछि आक्रोशित समर्थकले त्रिवि क्रिकेट मैदान पुगेर नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध नाराबाजी गरेका छन् ।
शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुने फाइनल खेलको टिकट बिक्री खुला भएको केही समयमै सबै टिकट बुक भएपछि टिकट पाउन नसकेका समर्थक आक्रोशित भएका हुन् ।
एकैपटक ठूलो सङ्ख्यामा दर्शकले टिकट खरिद गर्न खोज्दा धेरै समर्थक टिकट पाउनबाट वञ्चित भएका थिए । टिकट नपाएपछि उनीहरू त्रिवि क्रिकेट मैदान पुगेर आयोजक क्यानप्रति असन्तुष्टि जनाएका हुन् ।
क्यानले भने क्रिकेट मैदानको क्षमताअनुसार उपलब्ध सबै टिकट बिक्री भइसकेको जनाएको छ । टिकट नपाएका दर्शकलाई अनलाइन प्लेटफर्ममार्फत फाइनल खेल हेर्न क्यानले आग्रह गरेको छ।







