कास्कीको रिभानमा खुल्यो प्याराग्लाइडिङ् स्कुल, पालिकको सहकार्यमा डेढ करोड लगानी

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका-५ स्थित रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र (प्याराग्लाइडिङ स्कुल) सञ्चालनमा आएको छ।

पोखरामा व्यावसायिक प्याराग्लाइडिङ उडान सुरु भएको करिब तीन दशकपछि जिल्लामै पहिलोपटक औपचारिक प्रशिक्षण केन्द्र स्थापना भएको हो। यस स्कुलले स्वदेशमै दक्ष प्यारापाइलट उत्पादन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

साहसिक पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य पोखराको प्याराग्लाइडिङ क्षेत्रलाई थप व्यवस्थित र विस्तार गर्ने लक्ष्यका साथ एरोडाइनामिक प्याराग्लाइडिङ प्रालिले माछापुच्छ्रे गाउँपालिकासँगको सहकार्यमा बिहीबारदेखि रिभानको मैँचेडाँडामा स्कुल सञ्चालनमा ल्याएको हो।

व्यावसायिक उडान सुरु भएको लामो समय बितिसक्दा पनि पोखरामा दक्ष पाइलट तयार पार्ने औपचारिक प्रशिक्षण केन्द्रको अभाव थियो। प्याराग्लाइडिङका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका विजय गौतम, विष्णु गौतम, किरण कार्की र अमृत अधिकारीले एक करोड ५० लाख रुपैयाँको लगानीमा यो स्कुल स्थापना गरेका हुन्। प्रशिक्षण केन्द्रका थप पूर्वाधार निर्माणको काम बाँकी नै रहेकाले लगानी अझै बढ्ने सञ्चालकहरूले जनाएका छन्।

स्कुलका सञ्चालक विजय गौतमका अनुसार समुद्री सतहबाट एक हजार ६८० मिटरको उचाइमा रहेको मैँचेडाँडाबाट उडान भरी मर्दीखोला किनारको अनन्तठाँटीमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ।

उडानका लागि उपयुक्त मानिएको यस स्थानबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाका साथै लाहाचोक, ल्वाङ, अस्तामलगायतका पर्यटकीय क्षेत्र तथा पोखरा उपत्यकाको मनोरम दृश्य नियाल्न सकिन्छ।

“हिमालको सुन्दर दृश्यसँगै उडानको अनुभव लिन सकिने भएकाले लामो प्रक्रियापछि रिभानलाई प्रशिक्षण स्कुलका लागि छनोट गरेका हौँ,” सञ्चालक गौतमले भने, “यसबाट दक्ष पाइलट उत्पादन हुनुका साथै आगामी दिनमा व्यावसायिक उडानको ढोकासमेत खुल्नेछ।”

स्कुलले प्रारम्भिक १५ दिने आधारभूत तालिमदेखि इन्टरमिडियट, क्रस कन्ट्री तथा टेन्डमका टी–वान र टी–टु तहसम्मका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछ। एक सत्रमा छ जनालाई प्रशिक्षण दिने व्यवस्था मिलाइएको गौतमले जानकारी दिए।

नेपाल हवाई खेलकुद संस्था (ना) का पूर्वअध्यक्ष कृष्ण भण्डारीका अनुसार हाल पोखराको सराङकोटबाट ५४ वटा प्याराग्लाइडिङ कम्पनीले व्यावसायिक उडान भरिरहेका छन् भने पाइलटको लाइसेन्स लिएका ४०० जनामध्ये २५० जना विभिन्न कम्पनीमा कार्यरत छन्।

अन्तर्राष्ट्रियस्तरमा परिचित पोखरामा पाइलट उत्पादन गर्ने स्कुल खुल्नु दीर्घकालीन विकासका लागि ठूलो उपलब्धि भएको उनको भनाइ छ। “व्यवसायलाई दिगो बनाउन बर्सेनि दक्ष जनशक्ति आवश्यक पर्छ,” भण्डारीले भने, “यहीँ स्कुल स्थापना भएपछि स्वदेशी जनशक्ति उत्पादनसँगै विदेशी पर्यटकसमेत प्रशिक्षणका लागि यहाँ आउनेछन्।”

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले सराङकोटपछि रिभान प्याराग्लाइडिङको अर्को आकर्षक गन्तव्य बन्ने विश्वास व्यक्त गरे। प्याराग्लाइडिङले पोखराको पर्यटन र समृद्धिमा पुर्‍याएको योगदान अब माछापुच्छ्रे गाउँपालिकासम्म विस्तार हुने उल्लेख गर्दै उनले आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहयोग निरन्तर रहने बताए।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले प्रशिक्षण केन्द्रको सञ्चालनले स्थानीय पर्यटन प्रवर्द्धनसँगै आर्थिक गतिविधि चलायमान बनाउने बताए। विगतमा पदयात्रा मार्गका रूपमा चिनिएको रिभान पछिल्लो समय ओझेलमा परेको स्वीकार्दै उनले अब गाउँपालिकाले यस क्षेत्रको विकासमा विशेष ध्यान दिने प्रतिबद्धता जनाए।

यस्तै, वडा नम्बर ५ का वडाध्यक्ष नारायण पौडेलले रिभानमा पर्यटन विकासको प्रचुर सम्भावना रहेको औंल्याए। वडाको पहल र प्रदेश सरकारको सहयोगमा सहिद पार्क निर्माण भइसकेको जानकारी दिँदै उनले पर्यटकको बसाइ लम्ब्याउन ओदानेसम्मको मार्ग स्तरोन्नति गरी खुमैसम्म जोड्नुपर्ने आवश्यकता रहेको बताए। 

वडा नम्बर ८ का वडाध्यक्ष राम गुरुङले भने पदयात्रा र साहसिक पर्यटनको ठूलो सम्भावना भए पनि प्रदेश तथा संघीय सरकारबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको गुनासो गरे।

स्थानीय समाजसेवी यामबहादुर गुरुङले स्कुल सञ्चालनले गाउँमा पर्यटक भित्र्याउनुका साथै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्ने बताए। बसाइँसराइका कारण रित्तिएको गाउँमा अब नयाँ सम्भावना देखिएकाले बाहिरिएका स्थानीयहरू पुनः आफ्नै थातथलोमा फर्कने आशा पलाएको उनको भनाइ छ।

पोखराबाट जीपमा करिब एक घण्टाको यात्रापछि लाहाचोकको

पातीखोला हुँदै डाँडा चढेपछि रिभानको मैँचेडाँडा पुग्न सकिन्छ, जहाँबाट देखिने प्राकृतिक दृश्यले जोकोहीलाई मोहित पार्ने गर्छ। (रासस)

Scroll to Top