गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको सोही महिनाको तुलनामा चार हजार ६८२ ले बढी हो ।
गत वर्ष अक्टुबरमा ३७ हजार ७६ जना विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । मुख्य पर्यटकीय याम भएकाले अक्टुबर र नोभेम्बरमा पर्यटकको आगमन बढ्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख डा. रविन कडरियाले बताए ।
अक्टुबरमा आएका कुल पर्यटकमध्ये १९ हजार २०७ जना दक्षिण एसियाली मुलुकका रहेका छन् । बाँकी अन्य देशका पर्यटक हुन् ।
सन् २०२६ सुरु भएयता सबैभन्दा बढी पर्यटक गत जुनमा आएका थिए । उक्त महिनामा एक लाख आठ हजार ७०३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । सबैभन्दा कम भने जनवरीमा २० हजार ६३ जना पर्यटक आएका थिए ।
आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्रै तथ्याङ्क राख्ने गरेको छ । सडकमार्ग हुँदै ठूलो सङ्ख्यामा आन्तरिक पर्यटकसमेत अन्नपूर्ण क्षेत्रमा पुग्ने गरेका छन् ।
अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ र घोडेपानीलगायत गन्तव्य पर्यटकको रोजाइमा पर्दै आएका छन् ।
सात हजार ६०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । रासस







