श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वरिष्ठ अभिनेत्री गौरी मल्ललाई जेल हाल्ने कडा चेतावनी दिएका छन्।
चलचित्र ‘ककाकिकी’ को ट्रेलर सार्वजनिक कार्यक्रमका क्रममा प्रचारप्रसारका लागि गरिएको पक्राउको ‘प्र्यांक’लाई लिएर साम्पाङले सामाजिक सञ्जालमार्फत तीव्र असन्तुष्टि पोख्दै यस्तो चेतावनी दिएका हुन्।
शनिबार आयोजित उक्त चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा प्रहरीले अभिनेत्री गौरी मल्ल लगायतका कलाकारहरूलाई पक्राउ गरेको नाटक मञ्चन गरिएको थियो।
चलचित्रको प्रवर्द्धनका लागि अपनाइएको उक्त शैलीलाई साम्पाङले ‘आपराधिक कार्य’ को संज्ञा दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा अंग्रेजी भाषामा स्टाटस लेख्दै उनले उक्त घटनापछि गौरी मल्ल अब सम्मानित अभिनेत्री नरहेको टिप्पणी समेत गरेका छन्।
आफ्नो पार्टी सरकारमा पुगेको खण्डमा यस्ता गतिविधि गर्नेलाई कडा कारबाही गर्ने बताउँदै साम्पाङले लेखेका छन्, ‘गौरी मल्ल अब सम्मानित अभिनेत्री रहिनन्’। उनले चलचित्रको प्रचारका लागि आपराधिक प्र्याङ्क गरिन्। यो आपराधिक कार्य हो। हामी सरकारमा हुँदा यस्तो भयो भने उनलाई जेल हालिनेछ र श्रमदानमा ढुंगा बोकाइनेछ।’
चलचित्र प्रचारका नाममा सुरक्षा निकाय र कानुनी प्रक्रियाको गलत सन्देश जाने गरी गरिएको उक्त नाटकीय प्र्याङ्कलाई लिएर सामाजिक सञ्जालमा अहिले विभिन्न टीकाटिप्पणी भइरहेका छन्।







