कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले समाजको सकारात्मक निर्माणमा सामाजिक संस्थाहरुको भूमिका उल्लेखनीय रहेको बताएका छन् ।
पोखराको सिमलचौरस्थित सृजना विकास केन्द्रको ४९औँ वार्षिक साधारणसभा तथा ४६औँ स्थापना दिवसका अवसरमा प्रकाशित ‘सृजना दर्पण-२०८३’ को विमोचन गर्दै प्रजिअ गुरुङले सामाजिक संस्थाहरूले समुदायको उत्थान, सचेतना र मानवीय सेवामा पुर्याएको योगदान प्रशंसनीय रहेको बताए ।
गुरुङले राज्यले मात्र सबै क्षेत्रमा पहुँच पुर्याउन नसक्ने अवस्थामा सामाजिक सङ्घसंस्थाहरूले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद, जनसेवा र समुदायको समग्र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाएका छन् ।
उनले सामाजिक सङ्घसंस्थाहरूलाई अझ पारदर्शी, जबाफदेही र परिणाममुखी भएर काम गर्न सुझाव दिँदै स्थानीय प्रशासन सधैँ यस्ता संस्थाहरूसँग सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्र गिरीले सृजना विकास केन्द्रले सृजना बहिरा विद्यालय, जनप्रिय बहुमुखी क्याम्पसको स्थापना, महिला सशक्तीकरण तथा लघुवित्त कार्यक्रम, सृजना महिला बचत तथा ऋण सहकारी, सृजना खानेपानी परियोजनालगायत बहुक्षेत्रीय सामुदायिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए ।
पूर्वअध्यक्ष तथा सृजना दर्पण(२०८३ प्रकाशन समितिका संयोजक हरिप्रसाद बरालले संस्थाको संस्थागत इतिहास र गतिविधिको अभिलेखीकरणमा प्रकाशनले महत्त्वपूर्ण योगदान पुर्याएको बताए ।
उनले २०४५ सालमा प्रकाशित ‘पहिलो सृजना स्मारिका’ देखि २०८३ सालको ‘सृजना दर्पण’ सम्मका प्रकाशन संस्थाका महत्त्वपूर्ण सम्पत्ति र ऐतिहासिक अभिलेखका रूपमा रहेको उल्लेख गरे ।
कार्यक्रममा सडक डिभिजन पोखरा तथा मध्यपहाडी राजमार्गका कार्यालय प्रमुख नारायणदत्त भण्डारी, जनप्रिय क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र पहारी, सल्लाहकार समितिका सभापति लीलाधर बराल, संस्थापक अध्यक्ष तथा सल्लाहकार डम्बरबहादुर केसी र सृजना महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शारदा गिरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभामा कार्यवाहक महासचिव उर्मिला भट्टराईले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा भावी प्रस्तावित योजनाहरू प्रस्तुत गरिन् भने कोषाध्यक्ष अशोककुमार श्रेष्ठले आर्थिक अवस्था र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।







