देउसी-भैलोमा ‘छाडा’ नाचेपछि समातिए तीन युवति

रुपन्देहीमा देउसीभैलो कार्यक्रममा छाडा (अश्लील नृत्य) प्रदर्शन गरेको आरोपमा तीन महिला पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका–४ की २२ वर्षीया पूजा ठकुरी, दाङको गढवा गाउँपालिका–७ की २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका–६ की २४ वर्षीया बिपना मगर रहेका छन्।

वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सिद्धार्थनगर नगरपालिका–७ कञ्चनबारीबाट नियन्त्रणमा लिएको हो।

प्रहरीले सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा उनीहरूमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

Scroll to Top