देशको खबरः सडक दुर्घटनामा एकैदिन सातको मृत्यु, २ सय बढी घाइते

देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौं, नवलपरासी (पूर्व), कास्की, कपिलवस्तु र बर्दियामा भएका छुट्टाछुट्टै ६ वटा दुर्घटनामा सात जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित सडकमा कात्तिक २२ गते दिउँसो कार र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटरको पछाडि सवार दोलखाको बिगु गाउँपालिका–५ का २७ वर्षीय आङबुङ शेर्पाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि ग्रान्डी अस्पताल पुर्‍याइएकोमा दिउँसो ३ बजेर १७ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यस्तै, काठमाडौं महानगरपालिका–३ नारायणगोपाल चोकमा कात्तिक २३ गते बिहान बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक काठमाडौं महानगरपालिका–२९ मैतीदेवीका १८ वर्षीय रुद्राक्ष बस्नेतको मृत्यु भएको छ।

नवलपरासी (पूर्व)को देवचुली नगरपालिका–१५ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा कात्तिक २२ गते बिहान मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा अजमेरु गाउँपालिका–१ घर भएका २४ वर्षीय लोककुमार भण्डारीको मृत्यु भएको छ। घाइते भण्डारीलाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पुर्‍याइएकोमा बिहान ७ बजेर ४७ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।

कास्कीको पोखरा महानगरपालिका–२२ छोरेपाटनस्थित स्तुपा जाने कच्ची सडकमा कात्तिक २२ गते बिहान मोटरसाइकल सडकबाट करिब दुई मिटर तल खस्दा पोखरा–२२ कोदीका ३० वर्षीय सुरेश लामिछानेको मृत्यु भएको छ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बरगदवास्थित हुलाकी सडकमा कात्तिक २२ गते दिउँसो बसले ठक्कर दिँदा महाराजगञ्ज नगरपालिका–३ लक्ष्मीनगरका ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ। घाइते अहिरलाई उपचारका लागि अस्पताल लगिएकोमा दिउँसो ४ बजेर २९ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।

यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिका–५ वनवीरपुर चोकमा कात्तिक २२ गते राति दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका ठाकुरबाबा नगरपालिका–४ का २० वर्षीय अभिषेक चौधरीको राति १० बजेर ३९ मिनेटमा गुलरिया अस्पतालमा मृत्यु भएको थियो।

त्यस्तै, ठाकुरबाबा नगरपालिका–५ खुनपुरका ३० वर्षीय महेन्द्र रिजालको उपचारका क्रममा राति ११ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले सबै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Scroll to Top