भर्जिनिया: नेपाली मूलका नरेश भट्टले आफ्नी पत्नी ममता काफ्ले भट्टको शव विद्युतीय आराले टुक्राटुक्रा पारेको अदालतसमक्ष स्वीकार गरेका छन्।
आफ्नै हत्या मुद्दामा बयान दिने क्रममा भट्टले पत्नीको शव टुक्राटुक्रा पारेपछि फोहोर फाल्ने कन्टेनरमा राखेर फालेको स्वीकार गरेका हुन्। तर उनले पत्नीले आत्महत्या गरेको र आफूले डरका कारण शव लुकाएको दाबी गरेका छन्।
भट्टले घरेलु हिंसाको आरोप र पत्नीलाई सम्बन्धविच्छेद गर्न चाहेको विषयमा पनि अदालतमा जवाफ दिएका छन्।
सन् २०२४ को गर्मीयाममा ममता काफ्ले भट्ट बेपत्ता भएकी थिइन्। उनको शव अहिलेसम्म फेला परेको छैन। नरेश भट्टमाथि हत्या, शव लुकाएको र मृत शरीरको अपमान गरेको अभियोगमा मुद्दा चलिरहेको छ।
नेपाल र भारतमा हुर्किएका भट्टका लागि अदालतमा नेपाली दोभाषेको व्यवस्था गरिएको छ। दोभाषेले वकिलका प्रश्न अनुवाद गरिदिन्छन् र भट्टले अंग्रेजी वा नेपालीमध्ये आफूलाई सहज भाषामा जवाफ दिन सक्छन्।
अमेरिकी सञ्चारमाध्यम ७न्युजले अदालतभित्रैबाट मुद्दाको सुनुवाइबारे प्रत्यक्ष जानकारी दिइरहेको छ।
अदालतमा थप सन्देश प्रमाणका रूपमा पेस गर्ने विषयमा विवाद
बिहीबार मुद्दाको १७औँ दिनको सुनुवाइ सुरु हुनुअघि बचाउ पक्षका वकिलले भट्ट र अर्का एक पुरुषबीच भएका टेक्स्ट सन्देशका थप अंश प्रमाणका रूपमा समावेश गर्न माग गर्दै न्यायाधीश किम्बर्ली इर्भिङसमक्ष निवेदन दिएका थिए।
भर्जिनियाको कानुनी व्यवस्थाअनुसार कुनै कुराकानीको पूर्ण सन्दर्भ बुझाउन आवश्यक सबै सन्देश समावेश गर्नुपर्ने उनीहरूको तर्क थियो।
तर सरकारी वकिलले ती सन्देशहरू मुद्दासँग सम्बन्धित नरहेको र त्यसबारे अदालतमा बयान आइसकेको भन्दै मागको विरोध गरे।
न्यायाधीश इर्भिङले केही महिनासम्म भएका दुई व्यक्तिबीचका सबै कुराकानी नभई एउटा निश्चित कुराकानीको पूर्ण सन्दर्भमा मात्रै उक्त कानुनी व्यवस्था लागू हुने भन्दै बचाउ पक्षको माग अस्वीकार गरिन्।
पत्नीमाथि हिंसा गरेको आरोप अस्वीकार
बचाउ पक्षकी सरकारी प्रतिरक्षा वकिल ट्रेसी लेनोक्सले भट्टसँग पत्नीको परिवारले लगाएका आरोपबारे प्रश्न गरिन्।
ममताका भाइले आफ्ना आमाबुबाले ममतालाई मन नपराउने गरेको बताएको उल्लेख गर्दै वकिलले यसबारे सोधेकी थिइन्।
भट्टले त्यसलाई पूर्ण रूपमा अस्वीकार गरे।
ममताका सहकर्मीहरूले भट्टले उनीमाथि घरेलु हिंसा गर्ने गरेको भन्दै दिएको बयानबारे पनि प्रश्न उठाइयो।
‘के तपाईंले उनलाई शारीरिक रूपमा दुःख दिनुभएको थियो ?’ भन्ने प्रश्नमा भट्टले भने, ‘कहिल्यै होइन।’
भट्टले ममता आफूबाट अन्य महिलासँग सम्बन्ध भएको अपेक्षा गर्ने गरेको हुन सक्ने बताए। तर उनले आफूले कुनै परस्त्रीसँग सम्बन्ध नराखेको दाबी गरे।
उनका अनुसार सम्बन्धविच्छेदको कुरा गर्दा ममता आत्तिने र तनावमा पर्ने गर्थिन्।
भट्टले आफूलाई यौनसम्बन्धी स्वास्थ्य समस्या (इरेक्टाइल डिसफङ्सन) रहेको र विवाहअघि नै ममतालाई त्यसबारे जानकारी भएको पनि बताए।
उनले वैवाहिक जीवनमा आफू खुसी नरहेको र ममता सामाजिक सञ्जालका लागि टिकटक भिडियो बनाउँदा मात्रै खुसी देखिने गरेको जिकिर गरे।
पत्नीको शव घरभित्रै फेला पारेको बयान
त्यसपछि वकिलले मुद्दाको मुख्य घटनाक्रमबारे प्रश्न गरिन्।
भट्टले सन् २०२४ जुलाई ३० मा अमेरिकाको मनाससस्थित आफ्नै घरभित्र पत्नीलाई अचेत अवस्थामा फेला पारेको बयान दिए।
उनका अनुसार घटनाभन्दा अघिल्लो रात उनी करिब ८ बजे सुत्न गएका थिए। ममता भने भान्सामा काम गर्दै फोनमा कुरा गरिरहेकी थिइन्।
बिहान करिब ४ बजे छोरीको हेरचाह गर्न उठेका भट्टले पछि मुख्य बाथरुममा जाने क्रममा असामान्य गन्ध महसुस गरेपछि पत्नीलाई खोज्न थालेको बताए।
त्यसक्रममा उनले ममतालाई खाटको खुट्टातिर भुइँमा उत्तानो परेको अवस्थामा फेला पारेको बताए।
उनका अनुसार ममताको घाँटी र भुइँमा बान्ता थियो। बान्तामा चक्की, रगत, क्याप्सुल र खानेकुराका कणहरू देखिएको उनले बताए। त्यसमा ‘सेल्फोस’ नामको कृषि विषादीसमेत देखेको उनको दाबी छ।
भट्टले पत्नी अचेत अवस्थामा रहेको देखेपछि आफूले सीपीआर (मुटु र श्वासप्रश्वास पुनः सञ्चालन गराउने प्राथमिक उपचार) गर्ने प्रयास गरेको बताए।
आपत्कालीन सेवामा फोन नगर्नुको कारण सोध्दा उनले आफू अत्यन्तै आत्तिएको जवाफ दिए।
ममताको मृत्युको दोष आफूलाई लाग्ने र उनको मानसिक स्वास्थ्यलाई गम्भीरतापूर्वक नलिएको आरोप लाग्ने डर आफूलाई रहेको पनि उनले बताए।
बयानका क्रममा भट्टले एकपटक आफूले आत्महत्या गर्नेबारे पनि सोचेको उल्लेख गरे। उनले त्यसका लागि तार वा केबल खोजेको तर अन्ततः त्यसो नगरेको बताए।
शव टुक्राटुक्रा पार्न विद्युतीय आरा प्रयोग गरेको स्वीकार
भट्टले शव व्यवस्थापनका लागि आवश्यक सामग्री खोज्दै होम डिपो र वालमार्ट गएको बताए। होम डिपोबाट उनले एक जोर पञ्जा किनेका थिए।
किन पञ्जा किनेको भन्ने प्रश्नमा उनले शव लुकाउन वा पोटोम्याक नदीमा लैजान उपयोगी हुने सामग्री खोजिरहेको जवाफ दिए।
अदालतमा उनले ममताको शव फोहोर फाल्ने कन्टेनरमा राख्ने प्रयास गरेको र त्यसमा अटाउन सानो बनाउन शव टुक्राटुक्रा पारेको स्वीकार गरे।
‘कन्टेनरमा अटाउन सकियोस् भनेर सानो बनाउन खोजेको थिएँ,’ उनले भने।
शव टुक्राटुक्रा पार्ने क्रममा आफूले ममताका खुट्टा शरीरबाट अलग गर्ने प्रयास गरेको उनले बताए। तर शारीरिक र मानसिक रूपमा आफूले थप काम गर्न नसकेपछि बीचमै रोकेको उनको भनाइ थियो।
सरकारी वकिलले अदालतमा रयोबी कम्पनीको विद्युतीय आरा (रेकिप्रोकेटिङ स) को तस्बिर देखाउँदा भट्टले उक्त औजार आफूले प्रयोग गरेको पुष्टि गरे।
उनले सुरुमा फोहोर कन्टेनरमा रहेको फोहोर निकालेर आफ्नो गाडीमा राखेको र पछि फल्स चर्चस्थित अपार्टमेन्ट परिसरको फोहोर थिच्ने मेसिनमा फालेको बताए। उक्त अपार्टमेन्टमा आफू पहिले बस्ने गरेको उनको भनाइ थियो।
त्यसपछि ममताको अवशेष भान्सामा प्रयोग हुने फोहोरका झोलामा राखेको उनले बताए। कति वटा झोला प्रयोग गरे भन्ने प्रश्नमा उनले तीनवटा जति भएको अनुमान गरे।
आफ्नो क्षेत्रमा फोहोर उठाउन आउनुअघि नै शव टुक्राटुक्रा पार्ने काम सकिएको र त्यसपछि अवशेष फोहोरसँगै लगिने आफूलाई थाहा भएको उनले बताए।
ममताको शरीरको कुनै भाग ग्यारेजमा रहेको फोहोरबाहेक अन्यत्र फालेको हो कि भन्ने प्रश्नमा उनले अस्वीकार गरे।
बचाउ पक्षले सीधै प्रश्न गर्यो, ‘शव फेला नपरोस् भनेर तपाईंले ममताको शरीर टुक्राटुक्रा पारेर फोहोरमा राख्नुभएको हो ?’
भट्टले जवाफ दिए, ‘हो।’
उनले अदालतमा देखाइएका निगरानी क्यामेराका भिडियोमा देखिएको टेस्ला गाडी चलाउने व्यक्ति आफू नै भएको पनि स्वीकार गरे। ती भिडियोमा दुईवटा अपार्टमेन्ट परिसर र च्यान्टिलीस्थित लिबर्टी ग्यास स्टेसनमा विभिन्न झोला फालिरहेको देखिएको थियो।
ती झोलामा आफूहरूका कपडा, जुत्ता, खानेकुरा तथा ममताका शैक्षिक कागजात र अन्य दस्ताबेज रहेको उनले बताए।
गुगल सर्चबारे पनि सोधपुछ
अदालतमा भट्टको ल्यापटप र मोबाइलबाट निकालिएको गुगल सर्च हिस्ट्रीबारे पनि प्रश्न गरिएको थियो।
सन् २०२४ अगस्ट ५ मा ‘भर्जिनियामा हराएका मानिस फेला पार्ने सम्भावना कति छ ?’ भन्ने विषय खोजेकोबारे सोध्दा उनले स्पष्ट सम्झना नभएको बताए। तर आफू पक्राउ पर्ने डरले त्यस्तो खोजी गरेको हुन सक्ने उनले स्वीकार गरे।
ममताको शव टुक्राटुक्रा पारेपछि पक्राउ पर्ने डर लागेको थियो कि थिएन भन्ने प्रश्नमा उनले ‘हो’ भने।
अगस्ट १७ मा ‘के मैले आफ्नो बच्चा साथीलाई दिन सक्छु ?’ भन्ने विषय खोजेकोबारे उनले छोरीको अस्थायी हेरचाहका लागि विश्वासिलो व्यक्ति खोजिरहेको बताए।
सन् २०२४ फेब्रुअरीमा भर्जिनियामा विवाहबाहिरको सम्बन्ध अपराध हो कि होइन भन्ने विषय खोजेकोबारे उनले आफूले पढिरहेका समाचारसँग सम्बन्धित हुन सक्ने बताए।
सरकारी वकिलले ‘मिट कटर’ र ‘नाइफ शार्पनर’ अर्थात् मासु काट्ने औजार र चक्कु धार लगाउने उपकरणबारे गरेको खोजीबारे पनि प्रश्न गरे। भट्टले त्यस्तो खोजी गरेको सम्झना नभएको बताए।
उनले आफूले अनुसन्धान गरिएको अवधिमा कम्तीमा १४ हजार पटक गुगलमा खोजी गरेको हुन सक्ने अनुमान गरे।
विद्युतीय आरा ल्यान्डस्केपिङको काम गर्ने व्यक्तिलाई दिएको विषयमा उनले घाँस काट्ने कामको पारिश्रमिकस्वरूप दिएको दाबी गरे। अनुसन्धानकर्ताले फेला नपारून् भनेर नदिएको उनको भनाइ थियो।
दिउँसो १:१५ बजे : बचाउ पक्षको बयान सकियो, सरकारी वकिलको जिरह सुरु
बचाउ पक्षले थप २० मिनेट प्रश्न गरेपछि प्रत्यक्ष बयान सकिएको थियो।
भट्टले आफूले गरेका कामप्रति पछुतो रहेको बताए। विशेषगरी आपत्कालीन सेवामा फोन नगरेको र पत्नीको शरीरसँग गरेको व्यवहार आफ्नो सबैभन्दा ठूलो पछुतो भएको उनको भनाइ थियो।
उनले मृत शरीरको अपमान र शव लुकाएको अभियोग स्वीकार गरे। तर पत्नीको हत्या गरेको आरोप भने अस्वीकार गरे।
त्यसपछि सरकारी वकिल म्याथ्यु स्वीटले जिरह सुरु गर्दै भट्टलाई झुटो बोल्ने व्यक्ति भने।
उनको यस्तो भनाइपछि अदालतमा उपस्थित केही व्यक्तिले ताली बजाएका थिए। न्यायाधीश इर्भिङले अदालतमा अनुशासन कायम गर्न निर्देशन दिँदै भनिन्, ‘यहाँ यस्तो गर्न पाइँदैन।’
स्वीटले भट्टलाई आफूले झुट बोलेको स्वीकार गरिसकेको व्यक्ति भन्दै उनले प्रहरी अधिकारीसहित विभिन्न व्यक्तिलाई बोलेका झुटबारे प्रश्न गरे।
‘यो मुद्दाको नतिजामा तपाईंको व्यक्तिगत स्वार्थ छ, होइन ?’ भन्ने प्रश्नमा भट्टले ‘हो’ भने।
‘तपाईंले यो अपराध गर्नुभएको होइन भनेर १२ जना जुरी सदस्यलाई विश्वास दिलाउनुपर्नेछ, होइन ?’ भन्ने प्रश्नमा पनि उनले ‘हो’ भने।
अदालतमा बयान दिने साक्षीमध्ये कसैले आफूविरुद्ध झुट बोलेको छ भन्ने लाग्छ कि भन्ने प्रश्नमा उनले ‘हो’ भने।
विषादीबारे सरकारी वकिलको प्रश्न
सरकारी वकिलले ममताको बान्तामा सेल्फोस नामको विषादी देखेको भन्ने भट्टको दाबीमाथि पनि प्रश्न उठाए।
अमेरिकाको नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसार सेल्फोस भण्डारण गरिएको अन्न जोगाउन, मुसाको नियन्त्रण गर्न तथा गोदाम र अन्य स्थानमा कीरा नियन्त्रण गर्न प्रयोग हुने सस्तो तर अत्यन्त विषालु ठोस रासायनिक विषादी हो।
‘तपाईंले उनको बान्तामा त्यो विष देख्नुभएको थियो ?’ सरकारी वकिलले सोधे।
भट्टले जवाफ दिए, ‘हो, ध्यान दिएर हेरेपछि देखेको थिएँ।’
विषादी धुलोको रूपमा हुने भए पनि बान्ताजस्तो तरल पदार्थमा मिसिँदा त्यसलाई कसरी छुट्याउन सकिन्छ भन्ने प्रश्न पनि सरकारी वकिलले गरे।
भट्टले ध्यान दिएर हेर्दा देखिएको जिकिर गरे।
उनका अनुसार उक्त विषादी घरको मुख्य बेडरुममा तल्लो दराजमा राखिएको थियो र साङ्ला नियन्त्रणका लागि ममताले राखेको हुन सक्ने उनले बताए।
तर त्यतिबेला केही महिनाकी छोरी भुइँमा घस्रिने वा हिँड्ने अवस्थामा थिइन् कि थिएनन् भन्दै सरकारी वकिलले बच्चा पुग्ने ठाउँमा त्यस्तो विषादी किन राखिएको थियो भन्ने प्रश्न गरे।
भट्टले सामान्यतया विषादी अग्लो स्थानमा राख्ने गरिएको बताए।
दिउँसो ३:०७ बजे : घरेलु हिंसाको आरोपबारे पुनः प्रश्न
अदालतको विश्रामपछि सरकारी वकिल स्वीटले भट्टसँग घरेलु हिंसासम्बन्धी आरोपबारे थप जिरह गरे।
ममताका परिवारका सदस्य र साथीहरूले उनीमाथि हिंसा हुने गरेको भन्दै दिएको बयानलाई आधार बनाउँदै सरकारी वकिलले प्रश्न गरे।
‘ममताले तपाईंले आफूलाई दुर्व्यवहार गर्ने गरेको किन भनिरहेकी छन् ?’ स्वीटले सोधे।
भट्टले जवाफ दिए, ‘मलाई थाहा छैन।’
सरकारी वकिलले सन् २०२३ डिसेम्बर ११ मा भट्ट र ममताबीच आदानप्रदान भएका सन्देश पनि जुरी सदस्यलाई देखाए।
ती सन्देशमा ममताले आफ्नो अनुहारको तस्बिर र भिडियो भट्टलाई पठाएकी थिइन्। तस्बिरमा उनको दाहिने आँखामुनि नीलडाम र हात तथा नाकमा रगत देखिएको थियो।
ममताले सन्देशमा लेखेकी थिइन्, ‘यो दोस्रो पटक हो।’
त्यसको जवाफमा भट्टले लेखेका थिए, ‘म सम्बन्धविच्छेदका कागजातमा हस्ताक्षर गर्छु। म फेरि यस्तो चाहन्नँ।’
सन्देश, तस्बिर र भिडियो देखाएपछि पनि भट्टले आफूले ममतालाई कहिल्यै हात नलगाएको दाबी दोहोर्याए।
सरकारी वकिलले भट्टले गुगलमा खोजेका दुई महिलाको नामबारे पनि प्रश्न गरे। तीमध्ये एक महिला चिकित्सक थिइन् भने अर्की महिलासँग भट्टको मागी विवाहको कुरा चलेको थियो।
यसका साथै भट्टको बेडरुमबाट दुई फरक महिला बाहिर निस्किएको र उनीहरूसँग यौनसम्बन्ध राखेको आरोपबारे पनि प्रश्न गरियो। भट्टले उक्त आरोप अस्वीकार गरे।
साँझ ४ बजे : पत्नीप्रतिको प्रेम र शव व्यवस्थापनबारे कडा प्रश्न
सरकारी वकिल स्वीटले पत्नीप्रतिको भट्टको प्रेमबारे प्रश्न गर्दै भने, ‘तपाईंले आफ्नी पत्नी र छोरीकी आमालाई देखाउनुभएको प्रेम भनेको उनको शरीर टुक्राटुक्रा पार्नु थियो ? तपाईंले देखाउने प्रेम यही हो ?’
उनले थपे, ‘तपाईंले उनको शरीर टुक्राटुक्रा पार्नुभयो मात्रै होइन, फोहोर फाल्ने कन्टेनरमा समेत कोच्नुभयो।’
भट्टले अदालतमा आफूले त्यो कुरा स्वीकार गरिसकेको बताए।
ममताको शरीर टुक्राटुक्रा पार्न चक्कु प्रयोग गरेको हो भन्ने प्रश्नमा उनले ‘कुनै न कुनै रूपमा हो’ भन्ने जवाफ दिए।
सरकारी वकिलले नगदमा भुक्तानी गर्ने, क्रेडिट कार्ड प्रयोग नगर्ने र मोबाइल फोन बन्द गरेर मोबाइल टावरबाट आफ्नो स्थान पत्ता लगाउन नसकिने बनाएको विषयमा पनि प्रश्न गरे।
भट्टले पत्नीको शव टुक्राटुक्रा पार्ने क्रममा आफूलाई मानसिक रूपमा निकै कठिन भएको बताए।
उनले ममताको मोबाइल फोन नालीमा फालेको पनि स्वीकार गरे।
साँझ ४:५० बजे : अमेरिकी नागरिकता आवेदनमा जन्मस्थानबारे फरक विवरण
सरकारी वकिलले जिरहको अन्त्यतिर भट्टको जन्मस्थानबारे प्रश्न उठाए।
सरकारी वकिल स्वीटका अनुसार भट्टले अमेरिकी नागरिकताका लागि दिएको आवेदनमा आफ्नो जन्मस्थान नेपाल उल्लेख गरेका थिए।
तर अघिल्लो दिन अदालतमा बयान दिँदा उनले आफू भारतको नयाँदिल्लीमा जन्मिएको बताएका थिए।
यस विषयमा प्रश्न गर्दा भट्टले भने, ‘यो झुट होइन, यो संस्कृति हो।’
उनको जवाफपछि अदालतमा उपस्थित व्यक्तिहरू आश्चर्यचकित भएका थिए भने केहीले हाँसो व्यक्त गरेका थिए।
सरकारी वकिलले साँझ ५ बजेपछि आफ्नो जिरह सकाएका थिए।
साँझ ५:०५ बजे : जुरी सदस्यलाई बिदा
सुनुवाइपछि न्यायाधीशले जुरी सदस्यहरूलाई बिदा गरिन्।
बचाउ पक्षका वकिलले आगामी सोमबार पुनः केही प्रश्न गर्ने, थप साक्षी प्रस्तुत गर्ने र त्यसपछि आफ्नो पक्षको बहस तथा प्रमाण प्रस्तुत गर्ने काम समाप्त गर्ने योजना रहेको अदालतलाई जानकारी दिएका छन्।
एबीसी न्यूजको सहयोगमा







