विश्व क्रिकेटका चर्चित अलराउन्डर आन्द्रे रसेलले नेपालमा विराटनगर किङ्ससँग आफ्नो पहिलो अनुभवलाई विशेष र यादगार बनाउने चाहना व्यक्त गरेका छन् ।
मिडियाकर्मीसँग हालै कुराकानी गर्दै रसेलले नेपालमा पहिलोपटक कुनै प्रतियोगितामा सहभागी भएको र यहाँ केवल खेल्न र आफ्नो उपस्थिति जनाउन मात्र नभई सकारात्मक योगदान छोड्ने उद्देश्य रहेको बताएका छन् ।
रसेलका अनुसार नेपालमा बिताइरहेको समय उनका लागि निकै रमाइलो र नयाँ अनुभवले भरिएको छ । साथी खेलाडीहरूसँग समय बिताउँदै उनले नेपाली क्रिकेट र यहाँको वातावरणलाई पनि नजिकबाट अनुभव गरिरहेका छन् ।
उनले भने, ‘नेपालमा मेरो यो पहिलो अनुभव हो । म यहाँ राम्रो छाप छोड्न चाहन्छु । व्यावसायिक खेलाडीका रूपमा कुनै प्रतियोगितामा सहभागी भएर आफ्नो उपस्थिति मात्र जनाउनु पर्याप्त हुँदैन । म केही सकारात्मक योगदान दिन चाहन्छु। साथीहरूसँग यहाँको समय रमाइलो गरिरहेको छु ।’
विश्व क्रिकेटमा आफ्नो आक्रामक ब्याटिङ र प्रभावशाली अलराउन्ड प्रदर्शनका लागि परिचित रसेलको नेपाल आगमनले नेपाली क्रिकेट समर्थकमा समेत उत्साह थपेको छ । मैदानभित्रको प्रदर्शनसँगै आफ्नो अनुभव र व्यक्तित्वबाट पनि सकारात्मक प्रभाव छोड्ने उनको चाहनाले नेपाली क्रिकेटप्रतिको उनको रुचि र सम्मान झल्काएको छ ।







