सिमरन गुरागाँई
सुदरपश्चिम रोयल र विराटनगर किङ्सबीच शनिबार साँझ ५ ओभरको खेल भयो । उक्त खेलमा विराटनगरले शानदार जीत हात पारेपछि समर्थकहरुको खेल सुरु भयो सामाजिक सञ्जालमा ।
नतिजा सुनिश्चित भयो। टिमहरू आ-आफ्नो बाटो लागे, फ्यानहरू पनि आ-आफ्नो घर फर्किए। तर त्यसपछि, रातिको ११ बजेदेखि बिहानको ५ बजेसम्म सामाजिक सञ्जालमा जुन ताण्डव देखियो, त्यो फोहोर र घृणाको भेल देख्दा लाग्छ, के साँच्चै हामी नेपाली क्रिकेटका फ्यान हौँ त ?
म जस्तो नेपाली क्रिकेटलाई वास्तविक रूपमा माया गर्ने मान्छेलाई यो सब देख्दा साँच्चै नै दुःख लागेको छ।
स्टेडियमको ढोकाबाट भर्खर बाहिर निस्कँदै गरेका फ्यानहरूको मुखमा माइक तेर्स्याएर, तपाईंको टिम त हार्यो, लाज लाग्दैन ? अनुहार छोपेर हिँड्न ? भन्दै जुन आक्रोश र उत्तेजनाका साथ दर्शक र फ्यानहरूलाई उक्साउने प्रयास गरिन्छ, त्यसलाई पत्रकारिता भनिन्छ ?
न कुनै संयमता छ, न त कुन तरिकाले प्रश्न सोध्ने भन्ने सामान्य ज्ञान नै ! हातमा माइक समाउँदैमा कोही पत्रकार भइन्छ ? अनि यस्तैहरूले लेखेका समाचार र पोस्टहरू पढ्दा त दिक्क लागेर आउँछ।
सामाजिक सञ्जालमा खेलाडीको नामै तोकेर सुन्नै नसकिने छाडा शब्दहरू प्रहार गरिन्छ। आखिर, कसरी बोल्न सक्नुहुन्छ ? कसरी लेख्न सक्नुहुन्छ त्यस्ता शब्दहरू ? अचम्म लाग्छ मलाई।
हिजो एउटा खेलमा युवा खेलाडीले गरेको सेलिब्रेसनलाई लिएर सामाजिक सञ्जालभरि यति धेरै व्यक्तिगत आक्रमण गरियो कि, अन्त्यमा अर्को सिनियर खेलाडीले नै इन्स्टाग्राममा स्टोरी राखेर सार्वजनिक रूपमा अपिल गर्नुपर्ने अवस्था सिर्जना भयो।
प्लिज, उनी युवा खेलाडी हुन्। मैदानमा सक्दो मेहनत गरिरहेका छन्। दबाब होइन, प्रोत्साहन दिनुहोस्।
एउटा खेलाडीले अर्को खेलाडीको बचाउमा यतिसम्म लेख्नुपर्ने अवस्था आउनु, के यही हो हाम्रो क्रिकेट संस्कृति ?
हिजो एउटालाई शिकार बनाइयो, आज अर्को दुई-तीन जनालाई टार्गेट गरिसकियो। अनि यस्तो हर्कत गरेर आफूलाई चाहिँ म क्रिकेट फ्यान हुँ भन्नु ? लाजलाई पनि लाज लाग्नुपर्छ !
फ्रेन्चाइज क्रिकेटमा विरोध र विरोधी हुनु एकदमै स्वाभाविक कुरा हो, खेललाई रमाइलो र रोमाञ्चक बनाउँछ। तर त्यो रमाइलो कुन हदसम्म गर्ने भन्ने कुरा चाहिँ हामी आफैँले बुझ्नुपर्छ जस्तो लाग्छ। फ्रेन्चाइज क्रिकेटको नाममा खेलाडीहरूलाई छाडा शब्द प्रयोग गर्दै गालीगलौज गर्ने, मुखमा जे आयो त्यही बोल्ने !!
टिम फरक होलान्, प्रतिस्पर्धा फरक होला, तर देश त एउटै हो नि !
खेलको आलोचना गरौँ, ट्रोल गरौँ, त्यतिसम्म ठीकै छ। तर खेलाडीको व्यक्तिगत जीवनमाथि टीकाटिप्पणी गर्ने !!
खेलाडीको पनि व्यक्तिगत जीवन हुन्छ, तपाईं र मेरो जस्तै। जय क्रिकेट !







