बन्दीपुरमा रास्वपाको चुनावी रौनक, अध्यक्षमा ६ जनाको दाबेदारी

तनहुँ । फागुनमा स्थानीय चुनाव हुनसक्ने चर्चासँगै ‘पहाडकी रानी’ तनहुँको बन्दीपुरमा चुनावी रौनक बढेको छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्ताशीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बन्दीपुर गाउँपालिकाको अध्यक्ष पदका लागि ६ जनाले आवेदन दिएका छन्।

क्यान्डिडेट क्लबमा परेको आवेदनअनुसार अध्यक्ष पदमा बासु पन्त, शम्भु श्रेष्ठ, मानकाजी श्रेष्ठ, किसान प्रधान, बसन्त पौडेल र तारा भट्टराईले आवेदन दिएका हुन्।

पार्टीले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ। सोही क्रममा बन्दीपुर गाउँपालिकाका विभिन्न पदका लागि आवेदन परेको छ।

बन्दीपुर गाउँपालिकामा अध्यक्ष पदका अतिरिक्त उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य तथा महिला वडा सदस्य पदका लागि पनि आवेदन परेको छ।

विवरणअनुसार उपाध्यक्ष पदमा १ जना, वडा अध्यक्षमा ७ जना, वडा सदस्यमा ४ जना र महिला वडा सदस्यमा २ जनाले आवेदन दिएका छन्। दलित महिला वडा सदस्य पदमा भने हालसम्म आवेदन परेको देखिँदैन।

आवेदन दिएका आकांक्षीमध्येबाट पार्टीले तोकेको विधि र प्रक्रियाअनुसार उम्मेदवार छनोट गर्ने अपेक्षा गरिएको छ।

Scroll to Top