मनाङबाट राउन्ड अन्नपूर्ण चर्किए पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ पुगेका एक पथ प्रदर्शकको मृत्यु भएको छ ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ का २७ वर्षीय लाक्चन्द्र कुलुङको मुस्ताङस्थित प्रदेश अस्पताल जोमसोममा उपचारका क्रममा बुधवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिए ।
पथ प्रदर्शक कुलुङ हिमालयन हब एड्भेन्चर प्रालिमार्फत फ्रान्सका महिला पर्यटकलाई लिएर मनाङ हुँदै थोरङला पास पुगेर बुधबार राति मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ पुगेका थिए ।
सूचना अधिकारी महतका अनुसार कुलुङ मुक्तिनाथको एक होटलमा ‘वाथरुम’मा नुहाउन गएकामा लामो समयसम्म बाहिर ननिस्किएपछि होटलका सचालकले इलाका प्रहरी कार्यालय मुक्तिनाथलाई जानकारी गराएका थिए ।
पथ प्रदर्शक कुलुङ ‘वाथरुम’मा अचेत अवस्थामा भेटिएका थिए । तत्काल उनलाई उपचारका लागि प्रदेश अस्पताल जोमसोम भर्ना गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







