पोखरामा गगनः पार्टी बलियो बनाउन ‘विशेष संवाद अभियान’ थाल्ने घोषणा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एक ढिक्का बनाउन विशेष संवाद अभियान सञ्चालन गर्ने बताएका छन् ।

आज बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको सम्मान कार्यक्रममा सभापति थापाले आन्तरिक प्रतिस्पर्धाको तिक्तता छोडेर पार्टीसँग टाढिएका मतदाता र परिवारलाई पुनः जोड्न कांग्रेसले विशेष संवाद अभियान सञ्चालन गर्ने बताएका हुन् ।

उनले पार्टीको आन्तरिक निर्वाचनलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँदै पार्टीभित्रका गुटहरु समाप्त भइसकेकाले कटुता पनि मेट्नुपर्ने बताए ।

कांग्रेसमा अहिले २० वर्षदेखि ८० वर्षसम्मका चार पुस्ता एकैसाथ क्रियाशील रहेको उल्लेख गर्दै सभापति थापाले यसलाई पार्टीको अलौकिक पुँजीको रुपमा चित्रण गरे । सभापति थापाले पार्टीबाट बिगतमा भएका कमी कमजोरीलाई सच्चाएर लोकतन्त्र जोगाउनका लागि केन्द्रीत हुने पनि बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पहिले कांग्रेस रहेका तर पछिल्लो समय अर्कै पार्टीलाई मतदान गरेकाहरूलाई पुनः पार्टीमा जोड्न संवाद आवश्यक रहेको बताए ।

कार्यक्रममा लामो समयदेखि कांग्रेसमा रहेर समाज रुपान्तरणमा भूमिका निर्वाह गरेका गण्डकी प्रदेशका ११ जिल्लाका अग्रज नेताहरुलाई सम्मान गरिएको थियो ।

Scroll to Top