साउदी अरबमा सुरक्षा चुनौती बढेपछि नेपाली राजदूतावासद्दारा सतर्कता अपनाउन आग्रह

साउदी अरबको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गइरहेका बेला रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । 

राजदूतावासको आधिकारिक सूचनामा यस्तो आग्रह गर्नुको खास कारण खुलाइएको छैन । यद्यपि, क्षेत्रीय तनाव, मिसाइल तथा ड्रोन आक्रमणको जोखिम र हवाई सेवामा पर्न सक्ने असरका बीच जारी गरिएको यस सूचनालाई अर्थपूर्ण रूपमा हेर्न सकिन्छ । 

राजदूतावासले जारी गरेको सूचनामा सुरक्षा चेतावनी जारी भएको अवस्थामा बाहिर ननिस्कन, साउदी अरबका आधिकारिक निकायबाट जारी निर्देशनहरू पालना गर्न तथा सुरक्षा अवस्थासम्बन्धी जानकारी नियमित रूपमा लिन नेपाली नागरिकलाई अनुरोध गरेको छ ।

त्यस्तै, आधिकारिक स्रोतबाट पुष्टि नभएका समाचार, सूचना, तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट वा सेयर नगर्न पनि आग्रह गरिएको छ । 

सुरक्षा संवेदनशीलतासँग सम्बन्धित सामग्री जथाभावी सार्वजनिक गर्दा व्यक्तिगत सुरक्षामा जोखिम बढ्न सक्ने भएकाले दूतावासले यस विषयमा विशेष सावधानी अपनाउन सुचना जारी गरेको देखिन्छ ।

यात्रा गर्ने नेपाली नागरिकलाई हवाई उडानको समयतालिका परिवर्तन भएको वा उडान प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट जानकारी पुष्टि गरेर मात्र यात्रा गर्नसमेत अनुरोध गरिएको छ । 

किन आयो यस्तो सूचना?

राजदूतावासले सूचनामा यसको प्रत्यक्ष कारण उल्लेख नगरे पनि साउदी अरबसहित मध्यपूर्वको सुरक्षा वातावरणमा देखिने तनाव र सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखी सुचना जारी आकलन गर्न सकिन्छ । तर, यो सूचना कुनै खास आक्रमण वा घटनाकै कारण जारी गरिएको हो भन्ने आधिकारिक पुष्टि भने सर्वजनिक गरेको छैन । 

साउदी अरबमा रोजगारी तथा विभिन्न पेसामा आबद्ध ठूलो संख्यामा नेपाली नागरिक रहेकाले सुरक्षा अवस्थाबारे आएको यस्तो सूचनालाई गम्भीर रूपमा लिनुपर्ने देखिन्छ । 

नेपाली नागरिकले हल्लाको पछि नलागी आधिकारिक जानकारीमा भर पर्न, सुरक्षा निर्देशन पालना गर्न र आवश्यक पर्दा नेपाली राजदूतावाससँग सम्पर्क गर्न आवश्यक छ । 

दूतावासले सतर्क रहन, आधिकारिक निर्देशन पालना मात्र गर्न र अपुष्ट सूचना नफैलाउन समेत आग्रह गरेको छ । 

Scroll to Top