पीसीबीले २५ लाख मागेपछि एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नपाएपछि नेपाल प्रिमियर लिग (एनपीएल)मा पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ।

एनपीएलसँग सम्बन्धित विभिन्न व्यक्तिहरूसँग कुरा गर्दा प्रतियोगितामा सहभागी हुन यसअघि एनओसी पाइसकेका खेलाडीलाई समेत उनीहरूको अनुमति हाललाई रोक्का गरिएको जानकारी दिइएको छ।

एनपीएलमा आबद्ध व्यक्तिहरूका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले खेलाडीलाई एनओसी उपलब्ध गराएबापत शुल्क मागेको छ। प्रत्येक पाकिस्तानी खेलाडीका लागि करिब २५ हजार अमेरिकी डलर शुल्क मागिएको बताइएको छ।

यद्यपि, उक्त शुल्क माग लिखित रूपमा एनपीएल आयोजकलाई गरिएको हो वा होइन भन्ने पुष्टि हुन नसकेको ‘क्रिकइन्फो डटकम’ले जनाएको संवाददाता दानियल रसुलले लेखेका छन् ।

आठ टोली सहभागी एनपीएल अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुँदैछ। प्रतियोगिताका लागि छनोट भएका केही पाकिस्तानी खेलाडी काठमाडौं आइसकेका छन्।

अन्य केही खेलाडी नेपाल आउन तयारी अवस्थामा रहे पनि एनओसीसम्बन्धी समस्या समाधान नभएसम्म यात्रा स्थगित गरेको बुझिएको छ।

एनओसीका लागि मागिएको शुल्क नै विवादको मुख्य विषय हो वा होइन भन्ने पनि स्पष्ट भइसकेको छैन। यस विषयमा पाकिस्तान क्रिकेट बोर्डले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

एनपीएलमा पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहान, हैदर अली, हुनैन शाह, हुसैन तलात, इफ्तिखार अहमद, हसन अली र उसामा मिरलगायत खेलाडी सहभागी हुँदैछन्। उनीहरूमध्ये कुनै पनि खेलाडी एनपीएलको मितिसँग जुध्ने पाकिस्तानको राष्ट्रिय टोलीमा समावेश छैनन्।

यसै वर्ष पीसीबीले नयाँ केन्द्रीय सम्झौताको संरचना सार्वजनिक गरेको थियो, जसमा सेतो बल र रातो बल क्रिकेटलाई छुट्टाछुट्टै वर्गमा राखिएको थियो। त्यसअन्तर्गत ‘फर्म्याट ट्र्याक डी’ नामक श्रेणीमा टी–२० विशेषज्ञ खेलाडीलाई राख्ने व्यवस्था गरिएको थियो।

सैद्धान्तिक रूपमा उक्त श्रेणीका खेलाडीले पीसीबीले तोकेको अन्तर्राष्ट्रिय जिम्मेवारीसँग नजुध्ने अवस्थामा आफूले चाहेका विभिन्न टी–२० लिगमा खेल्न पाउने व्यवस्था गरिएको थियो।

तर पीसीबीले हालसम्म कुन खेलाडी कुन श्रेणीमा पर्छन् भन्ने सार्वजनिक गरेको छैन। नयाँ केन्द्रीय सम्झौताको संरचना पूर्ण रूपमा कार्यान्वयनमा आएको हो वा होइन भन्ने पनि स्पष्ट छैन।

एनपीएलमा सहभागी यीमध्ये कुनै पनि पाकिस्तानी खेलाडी हाल पाकिस्तानको एकदिवसीय वा टेस्ट टोलीको योजनामा भने छैनन्।

Scroll to Top