विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण आयोगका अध्यक्ष प्राडा सृजना श्रेष्ठले नेपालको पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक रहेको बताइन्।
विश्व पोलियो दिवस, २०२६ का अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले नेपालले पोलियो उन्मूलनमा हासिल गरेको उपलब्धि उल्लेखनीय भए पनि त्यसलाई सधैँ कायम राख्न निरन्तर प्रयास गर्नुपर्ने बताएकी हुन् ।
विश्वको कुनै पनि ठाउँमा पोलियो भाइरसको सङ्क्रमण रहँदासम्म नेपालमा पनि यो रोग भित्रिने जोखिम रहने उल्लेख गर्दै उनले खुला सिमाना र मानिसको आवागमनका कारण निरन्तर सतर्कता अपनाउनुपर्नेमा जोड दिइन् ।
उनले नेपालको पोलियोमुक्त अवस्था कायम राख्न पाँच प्रमुख प्राथमिकता उल्लेख गरेकी छन् । पहिलो, नियमित खोप सेवा पु¥याउने, विशेषगरी दुर्गम तथा जोखिममा रहेका क्षेत्र र समुदायका प्रत्येक बालबालिकाले पूर्ण खोप प्राप्त गर्ने सुनिश्चिता गर्नुपर्ने उनको भनाइ छ ।
यसैगरी, पोलियो भाइरसको समयमै पहिचानका लागि अति शीघ्र लुलोपनको निगरानीलाई प्रभावकारी बनाउने, पोलियो भाइरस पहिचान भएको अवस्थामा शीघ्र र प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्न नियमित निगरानी समीक्षा हुनु आवश्यक रहेको उनको भनाइ छ ।
डा. श्रेष्ठले पोलियोसम्बन्धी विश्वव्यापी वित्तीय सहयोगको परिवर्तित परिप्रेक्ष्यमा खोपबाट बचाउन सकिने रोगको निगरानी, प्रयोगशाला सेवा, खोप कार्यक्रम तथा प्रकोप प्रतिकार्यसम्बन्धी अत्यावश्यक क्षमता र संरचनाको संरक्षण गर्नुपर्ने बताइन् ।
उनले पोलियो उन्मूलनबाट प्राप्त अनुभव, विशेषज्ञता र संरचनाको सदुपयोग गर्दै अन्य खोपबाट बचाउन सकिने रोगको निगरानी तथा प्रतिकार्य प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिइन्।
नेपालमा राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरूलाई ओरल र इन्जेक्टेबल दुवै प्रकारका पोलियो खोप नियमित रूपमा प्रदान गरिँदै आएको छ ।







