रक्षा बम
परिवारमा सधैँझैँ टीका लगाएर आशीर्वाद थाप्दा यसपालि कसैले पनि ‘छिट्टै बिहे गर्नु’, ‘अर्को साल ज्वाइँसँगै लिएर आउनु’ भनेनन्। बरु सबैका आशीर्वाद फरक थिए। कसैले भने, ‘आफ्नो मनको गर्नु।’ कसैले भने, ‘ठूलो नेता बन्नु।’ त कसैले भने, ‘नाम कमाउनु, दाम कमाउनु।’ हाम्रो परिवारका सबै छोरीहरूले सायद आज यस्तै फरक आशिर्वाद पाए।
मलाई यी शब्दहरू असाध्यै मिठा लागे। आशीर्वादका रूपमा सुनिएका यी केही वाक्यभित्र हाम्रो परिवारमा आइरहेको एउटा सुन्दर परिवर्तन महसुस गरेँ। हामीले बुझ्दै आएको समाजमा छोरीको सफलतालाई उसको व्यक्तिगत सपना, क्षमता र पहिचानभन्दा बढी उसको वैवाहिक जीवनसँग जोडेर हेरिन्छ।
उसका सपनाहरूको आयु पनि कतै बिहेको उमेरसँगै गनिन्छ।तर यसपालि मेरा आफन्तहरूले मलाई बिहेको समयसीमा नभइ मेरा सपनाहरूको आकाश आशीर्वादमा दिए।कसैको नामसँग जोडिनुअघि आफ्नै नाम कमाउन शुभकामना दिए।
मलाई थाहा छ, समाजका रूपमा, परिवारका रूपमा हामीले अझै धेरै कुरा सिक्न बाँकी छ। हामीले सिकेका कैयौँ कुरा फेरि नयाँ ढङ्गले सिक्न बाँकी छ। तर यस्ता साना परिवर्तनहरू पनि अर्थपूर्ण छन्।छोरीका सपनालाई आशीर्वाद दिन सिकेको परिवार बदलिदो समाजको आधार नै हुन्।
बम जेनजी अभियन्ता हुन्।







