नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका छन् । पार्टी मुख्यालय सानेपामा उनले पदभार ग्रहण गरेका हुन् ।
सभापति थापाले महाधिवेशन अन्तर्गतको निर्वाचन आम निर्वाचनजस्तो नभई पार्टीभित्रकै आन्तरिक प्रतिस्पर्धा भएकाले यसलाई जित–हारको विषयभन्दा पनि जिम्मेवारीको रूपमा लिनुपर्ने उल्लेख गरे ।
उनले सभापति तथा अन्य पदाधिकारीहरूको जिम्मेवारी केवल पद प्राप्त गर्नु मात्र नभई नागरिकहरूको लोकतान्त्रिक अधिकार, आत्मसम्मान, र न्यायको रक्षा भएको उल्लेख गरे ।
पार्टीका संस्थापकहरूको मूल मर्म—लोकतन्त्र, मर्यादा, र सामाजिक न्याय—लाई सधैं शिरोधार्य गरिने बताए । उनले पार्टीलाई सानो कोठाबाट निकालेर जनता, किसान, युवा, र मजदुरहरूसँग जोड्दै संस्थागत रूपमा परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे ।
कांग्रेसलाई समयसापेक्ष, वैचारिक रूपले सबल, र जनसरोकारका मुद्दामा खरो उत्रने पार्टी बनाइने उनले बताए ।
यसअघि आजै उनले पद तथा गोपनियताको शपथ पनि गरेका थिए । राजधानीमा आयोजित १५औँ महाधिवेशनमा श्यामकृष्ण खड्कीलाई पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका हुन् ।
थापाले ६ हजार ५८४ मत पाएका थिए भने खड्कीले ३ सय ७५ मत प्राप्त गरेका थिए ।
केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको सपथ भने दसैँपछि हुनेछ ।







