पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल बस दुर्घटनामा परेकी अस्मिता कँडेलको स्वास्थ्यवस्था गम्भीर रहेको छ ।
अस्मितालाई पोखराबाट थप उपचारार्थ आइतबार काठमाण्डौंको बी एण्ड बी अस्पताल लगिएको छ । उनलाई आज पर्यटनमन्त्री गनेस पौडेल भेट्न पुगेका थिए ।
भेटपछि उनको अवस्थाबारे पर्यटनमन्त्रीले अप्रत्यक्षरुपमा अवस्था ‘गम्भीर’ रहेको बताएका हुन् ।
सामाजिक सञ्जालमा पौडेलले भनेका छन्ः
भर्खरै बी एन्ड बी अस्पताल पुगेर नानी अस्मिता कँडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिई फर्किएको छु। मैले भेट्दा नानीले हातखुट्टा चलाइरहेकी थिइनु । उनका परेलाहरू चल्मलाइरहेका थिए ।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार, सिटी स्क्यान रिपोर्टमा टाउको र स्पाइनल कर्डमा कुनै समस्या देखिएको छैन। तर, दुर्घटनाको ठूलो चोटका कारण पेटमा आन्तरिक रक्तस्राव भएको छ र पेल्भिक बोन (कम्मरको हड्डी)मा फ्र्याक्चर भएको छ। प्लेटलेट्सको मात्रा कम भएकाले त्यसलाई बढाउने उपचार गरी अहिले यतिखेर पेटको शल्यक्रिया भैरहेको छ।
म सफल शल्यक्रियाको लागि ईश्वरसँग प्रार्थना गर्दछु !
पेल्भिक क्षेत्रका हड्डीहरूलाई भने हालका लागि स्थिर राखिने र पछि शल्यक्रियामार्फत जोडिने चिकित्सकहरूले बताएका छन्। अस्पतालका सञ्चालक प्राडा जगदीशलाल वैद्यज्यूसँग भेट गरी नानीको उपचारमा कुनै कमी हुन नदिन अनुरोध गरेको छु। उहाँ स्वयं पनि पोखरेली हुनुहुन्छ। उहाँले नानीलाई आफ्नै छोरीसरह मानेर उपचारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नानी अस्मिताको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। यो कठिन घडीमा उहाँको परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस्। हामी सबैको माया, सद्भाव र प्रार्थना नानीसँगै छ।







