पुम्दी-भुम्दी पर्वतीय दौडमा पुन: रावतकै बर्चश्व, जिते ५० हजार

 पोखरामा आयोजित तेस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको उपाधि अघिल्लो संस्करणका विजेता सुदूरपश्चिमका नरेन्द्रसिंह रावतले जितेका छन् ।

पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा शनिबार विश्वशान्ति स्तूपदेखि बुद्धपार्कसम्म ८ किमी दूरीको दौड उनले ३४ मिनेट, ३५ सेकेण्ड र ८८ मिलीसेकेण्डमा पूरा गर्दै खुलातर्फको उपाधि जित्न सफल भएका हुन् । उनले पुरस्कारस्वरुप नगद ५० हजार साथमा मेडल र प्रमाणपत्र पुरस्कार हात पारे ।

यसैगरी, गौतम श्रेष्ठ दोस्रो र नीरज भट्ट क्षेत्री तेस्रो हुन सफल भए । श्रेष्ठले निर्धारित दूरी पार्न गर्न ३५ः१६ः१९ मिनेट लगाउँदा क्षेत्रीले ३५ः२९ः०१ मिनेटमा पूरा गरे । उनीहरुले जनही ३० हजार र १५ हजार पुरस्कार प्राप्त गरे ।

साथै, धिरबहादुर बुढा चौथो र सरोज कुँवर पाँचौं भए । छैटौदेखि दशौंसम्म क्रमशः महेन्द्रबहादुर बुढाथोकी, श्रीकेश राई, पृथ्वीलाल राई, महेन्द्र घर्तीमगर र आशीष कुँवर भए ।

महिलातर्फ दीर्पा बस्नेत प्रथम भइन् । उनले निर्धारित ८ किमी दूरी ४८:१३ः४६ मिनेटमा पूरा गरेकी हुन् । महिलातर्फ नै द्रोपता कठायत र मीमु बुढा दोस्रो र तेस्रो भए ।

यू–१६ तर्फ कमल विक, मुलुकसिंह खत्री, सक्षम बोहोरा क्रमशः प्रथम, दोस्रो र तेस्रो भए ।

पोखरा वडा २२ अन्तर्गत कृशल परियार, सुयन विक र कमल पौडेल प्रथम, दोस्रो र तेस्रो भए ।

भेटेरानतर्फ तेजबहादुर गुरुङ प्रथम हुँदा किशोर थापा र कमल गुरुङ दोस्रो र तेस्रो बने ।

विदेशी धावकमा म्याथियस डियोन प्रथम, अलेक्जेण्डर दोस्रो र माइकाइलो तेस्रो भए ।

खुलाबाहेक अन्य विधामा प्रथमलाई १५, ७ र ३ हजार पुरस्कार दिइएको हो । खुलातर्फ चौथो र पाँचौले पनि क्रमशः ७ र ३ हजार पाउँदा छैटौंदेखि दशौंसम्मलाई नगद १ हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो ।

विजयीलाई समापन समारोहका प्रमुख अतिथि पोखराका मेयर धनराज आचार्य, पोखरा २२ का वडाध्यक्ष हिमलाल बराल, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष शोभा गौतम, वरिष्ठ समाजसेवी चन्द्रकान्त बराल, पर्यटन व्यवसायीहरु गणेशबहादुर भट्टराई, हरि भुजेल, संगीता पौडेल, प्रतियोगिता संयोजक दीननाथ बराललगायतले पुरस्कार प्रदान गरे ।

सोही अवसरमा पुम्दीभुम्दीको पर्यटन प्रवद्र्धन तथा स्थानीय क्षेत्रको विकासमा योगदान दिने राज गुरुङ ‘लाला’ र म्याराथन धावक अर्जुन गोदारलाई सम्मान गरिएको थियो ।

विश्वशान्ति स्तूपमा आयोजित उद्घाटन समारोहको प्रमुख अतिथि गण्डकी प्रदेशका खेलकुद मन्त्री रेखा गुरुङले उद्घाटन गरेकी हुन् ।

Scroll to Top