पोखराको कालिका बोर्डिंग स्कुलको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा परेर १४ जना घाइते भएका छन्।
प्रहरीका अनुसार, मृत्यु हुनेमा ३ छात्रा र १ छात्र रहेका छन् । साथै, स्कुलबसमा लिफ्ट मागेर चढेका एक अभिभावकको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेशका डीआईजी दीपेन्द्र जीसीका अनुसार ४ बिद्यार्थी र एक अभिभावकको मृत्यु भएको हो । घाइतेलाई उपचारका लागि गण्डकी मेडिकल कजेल र पश्चिम क्षेत्रिय अस्पतालमा पठाइएको छ ।
पोखरा–२८ स्थित बिजयपुर सैनिक ब्यारेकबाट उत्तर तर्फ माझथाना नजिक स्कुलबस दुर्घटना भएको जीसीले बताए ।
बिद्यार्थी लिएर स्कुलतर्फ जाँदै गरेको ग२ख १४१७ नम्बरको उक्त बस भिरबाट २ सय मिटर तल खसेको हो । घाइतेको उद्धारमा खटिएका एक प्रहरी जवान समेत चिप्लिएर घाइते भएका छन् ।







