पोखरा ।
जनप्रिय मावि सिमलचौरमा अभिभावक संग अभिमुखीकरण भएको छ । शैक्षिक सत्र सुरु भएसँगै कक्षागत अभिभावकसंग अन्तरक्रिया गर्दै विद्यालयले गर्नु पर्ने सुधार तथा अभिभावकको कर्तव्य बारेमा छलफल भएको थियो । शिक्षक अभिभवक संघका अध्यक्ष केदार धमलाको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ८ मा अध्ययनरत विद्यार्थीका अभिभावक सहभागि कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद त्रिपाठीले अभिभावकले कडा निगरानी र विद्यालयले उचित शिक्षा प्रदान गर्नुपर्ने बताए ।
कार्यक्रममा विद्यालयका प्रअ देवीप्रसाद बस्ताकोटीले आधुनिक शिक्षा प्रदान गरिरहेको जनप्रियले संस्कार युक्त शिक्षा प्रदान गर्न घरपरिवारको ठूलो भूमिका हुने बताए । उनले प्राविधिक शिक्षा, कम्प्युटर शिक्षा, लाइब्रेरी तथा शैक्षिक यात्रामा जोडिने हरपक्षलाई सवैको हातेमालो हुनु पर्नेमा जोड दिएका थिए । शिक्षक सुशीला गिरीले सञ्चालन गरेको सभामा सहायक प्रअ ऋषिराम अधिकारीले स्वागत गर्दै अभिभावकको रुचीमा विद्यार्थीको मेहनेत हुने भएकाले दुईहातले मात्र तालि बज्ने बताएका थिए । ३ वटा सेक्सनमा पढाई भइरहेको कक्षा ८ का कक्षा शिक्षक, विषयगत शिक्षक तथा अभिभावकको उल्लेख्य उपस्थितिमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा भ्वाईस अफ् चिल्ड्रेनका कार्यक्रम अधिकृत अप्सरा गुरुङले अभिभावकलाई मोबाईल प्रयोगबाट हुने हानी र बालबालिकालाई पार्ने असरको प्रस्तुती दिएकी थिइन् । गुरुङले अनलाईनको माध्यमबाट बालबालिकालाई विभिन्न प्रकारका हेरेस्मेन्ट, ठगी, अनैतिक क्रियाकलाप तथा जीवन बर्वाद पार्ने योजनाका घटनाहरु बढेको भन्दै त्यस्ता घटनालाई निरुत्साहित गर्न विद्यालय र अभिभावक चनाखो हुनु पर्नेमा जोड दिएकी थिइन् ।
कार्यक्रममा सहभागी अभिभावकहरुले गुगल तथा एआईबाट जस्ताको तस्तै सारेर गृहकार्य बुझाउने, पुरा समय पढ्न नपाउने, पाठ्यभार पुरा नगर्ने, बिदाको जानकारी नहुने, कोर्षको वेवस्ता गर्ने, नयाँ संस्कार तथा सस्कृतिमा ध्यान नदिने, शिक्षक बिदामा रहँदा कक्षा खाली रहने लगायत विभिन्न धारणा राखेका थिए । विद्यालय प्रशासनले आगामी दिनमा सुधारका कार्यक्रम सार्वजनिक गर्दै कक्षा ८ का विद्यार्थीले पुरा गर्नु पर्ने पठन कर्तव्य र अभिभावकले दिनुपर्ने ध्यानको बारेमा विभिन्न धारणा राखेको थियो ।







