पोखरास्थित सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ निर्वाचित भएका छन्।
क्लबको वार्षिक साधारण सभा तथा अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
प्रथम उपाध्यक्षमा नवराज गोठाजु र द्वितीय उपाध्यक्षमा प्रकाशमान श्रेष्ठ चुनिएका छन्। त्यसैगरी निर्देशकमा ज्ञानेश्वर राज श्रेष्ठ, सचिवमा अनिल श्रेष्ठ, कोषाध्यक्षमा मदन मुल्मी तथा सहसचिवमा जमुना अधिकारी चयन भएका छन्। कार्यसमिति सदस्यहरूमा शशी मर्सानी र वीरेन्द्र बाटाजुलाई जिम्मेवारी दिइएको छ। निर्वाचन संयोजकमा इन्दिरा मर्सानी श्रेष्ठ थिइन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पदभार ग्रहणलगत्तै बालबालिकाको शिक्षाका लागि २ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन्। उनले आफ्ना स्वर्गीय बुबाको सम्झनामा ‘स्वर्गीय डिलबहादुर श्रेष्ठ स्मृति अक्षयकोष’ सुरु गर्दै उक्त रकमको चेक क्लबलाई बुझाएका हुन्। आर्थिक अभावका कारण पढ्न नपाएका बालबालिकालाई यो कोषमार्फत शैक्षिक सहयोग दिइनेछ।
शनिबार आयोजित विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्। कार्यक्रममा निवर्तमान अध्यक्ष देवेन्द्र पराजुलीले नयाँ अध्यक्ष श्रेष्ठलाई कार्यभार सुम्पिए।
पद सम्हाल्दै अध्यक्ष श्रेष्ठले सिद्धार्थ क्लबलाई सेवा, सहकार्य र सामाजिक उत्तरदायित्वको अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाए। उनले संस्थाको विधान, नीति र मूल्य(मान्यताभित्र रहेर पूर्ण पारदर्शिता र अनुशासनका साथ काम गर्ने बताए।
विक्रम संवत् २०४१ सालमा स्थापना भएको यो क्लबले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा काम गर्दै आएको छ। त्यसैगरी महिला तथा बालबालिका सशक्तिकरण र विभिन्न सामाजिक सेवाका क्षेत्रमा पनि संस्था सक्रिय छ।
आगामी दिनमा यी कार्यक्रमहरूलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउने लक्ष्य क्लबले लिएको छ।
पदस्थापनाकै अवसरमा क्लबको बाल शैक्षिक कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई विद्यालय पोसाक र कापी(कलम वितरण गरिएको थियो।
कार्यक्रममा विपन्न विद्यार्थीलाई आर्थिक सहायताका साथै २०८२ सालको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउनेहरूलाई सम्मान समेत गरियो।







