नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्कीमा भएको क्षेत्रीय निर्वाचनमा पराजित ३ उम्मेदवारले मत परिणाम अस्वीकार गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।
उनीहरुले निर्वाचनको परिणामपछि विजयी उम्मेदवारको घोषणा नगर्न समेत माग गरेका छन् । हारेका उम्मेदवारमध्ये एकजना चौथो स्थानमा रहेका छन् ।
कास्की क्षेत्र नम्बर २ को निर्वाचनमा फर्जि मत खसालेको, निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ३२ वटा मतपत्र प्रयोग भएको र पोखरामा नै नरहेका प्रतिनिधिले समेत मत हालेको भन्दै यथार्थ छानबिन गर्न उनीहरुले माग गरेका हुन् ।
पराजित नेताहरू देवकृष्ण पराजुली, दिपेन्द्र मर्सानी र अर्जुन पोखरेलले असोज १४ गते निर्वाचन अधिकृतलाई संयुक्त निवेदन दिँदै निष्पक्ष छानबिन गरेर मात्र मतगणना तथा परिणाम घोषणा गर्न अनुरोध गरेका छन्।
असोज १२ र १३ गते भएको निर्वाचनमा व्यापक अनियमितता भएको भन्दै उनीहरूले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका हुन्।
निवेदनमा फर्जी मत खसालेको, ३२ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नरहेको र पोखरामा अनुपस्थित रहेका नेपाल अर्थात् गैरप्रतिनिधिहरूले समेत मतदान गरेको गम्भीर आरोप लगाइएको छ। उनीहरूले यी विषयको यथार्थ छानबिन नगरी मतगणना र परिणाम घोषणा नगर्न माग गरेका छन्।
यसअघि अर्का उम्मेदवार सुबास सिग्देलले पनि निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ३२ भन्दा बढी मतपत्रलाई मान्यता दिने केन्द्रीय प्रवक्ता देवराज चालिसेको निर्णयप्रति असहमति जनाउँदै निर्वाचन नै रद्द गरी पुनः मतदान गराउन माग गरिसकेका छन्।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत पोखरामा सम्पन्न कास्की क्षेत्र नम्बर २ को निर्वाचनको अन्तिम परिणाम अनुसार क्षेत्रीय सभापति पदमा १४९ मत ल्याएर नवीन बराल निर्वाचित भएका छन्।
उनका प्रतिस्पर्धी सुबास सिग्देलले १४२ मत, देवराज आचार्यले १३१ मत र देवकृष्ण पराजुलीले ९४ मत प्राप्त गरेका थिए। कुल ५५४ जना प्रतिनिधि रहेको यस क्षेत्रीय निर्वाचनमा ५४० मत खसेको थियो।
यस्तै प्रदेश सभा क्षेत्रतर्फ कास्की २ ‘क’को सभापतिमा भोजराज आचार्य १३२ मत ल्याएर विजयी बनेका छन् भने उनका प्रतिस्पर्धी अर्जुन पोख्रेलले १२३ मत ल्याए। यस क्षेत्रमा कुल २५६ मत खसेको थियो।
यस्तै कास्की २ ‘ख’को सभापति पदमा अमृत शर्मा तिमिल्सिना १४८ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी दिपेन्द्र मर्सानीले १०० मत र सुवर्ण केसीले ३३ मत प्राप्त गरेका थिए। यो क्षेत्रमा कुल २८४ मत खसेको थियो।







