१४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरोले निम्त्याएको थियो विनाश – प्रतिवेदन

गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा आएको विनाशकारी लेदोयुक्त बाढीको मुख्य कारण कुनै हिमताल फुटेर नभई लाङटाङ-लिरुङ हिमश्रृङ्खलाको माथिल्लो क्षेत्रबाट खसेको ठूलो हिम-चट्टान पहिरो रहेको पुष्टि भएको छ ।

जल तथा मौसम विज्ञान विभाग र सम्बन्धित विपद् अध्ययन संस्थाहरूले सार्वजनिक गरेको ‘अध्ययन प्रतिवेदन’ अनुसार उक्त प्राकृतिक विपत्तिमा करिब १४ करोड २० लाख घनमिटर बराबरको हिउँ, विशाल चट्टान, माटो र गेग्रान एकैपटक खसेर नदीमा मिसिँदा तल्लो तटीय क्षेत्रमा विनाशकारी ‘हिलाम्मे बाढी’ सिर्जना भएको थियो ।

प्रतिवेदन अनुसार २६ अगस्ट बिहान ८:३७ बजे समुद्री सतहबाट करिब ५ हजार २ सय मिटर उचाइमा रहेको लाङटाङ लिरुङ हिमालको उत्तरी–पश्चिमी ढलानबाट करिब ६ सय मिटर चौडा र ७० मिटर बाक्लो विशाल हिउँ र चट्टानको भाग एकाएक ढलेको थियो ।

उक्त विशाल पिण्ड करिब १ हजार ४ सय मिटर तल ल्हेन्दे खोलाको उपत्यकामा खस्दा ५।२ म्याग्निच्युडको भूकम्प सरहको धक्का मापन गरिएको थियो ।

खस्ने क्रममा उत्पन्न प्रकम्पन र घर्षणजन्य तापक्रमका कारण हिउँ द्रुत गतिमा पग्लियो र यसले बाटोमा रहेका पुराना गेग्रान, माटो र रूखहरूलाई सोहोर्दै विशाल लेदोको रूप लियो ।

ल्हेन्दे खोलाको यो भयानक लेदो उत्तरी सीमा पार गरी चीनको तिब्बतस्थित केरुङ हुँदै पुनः रसुवागढी नाकाबाट नेपालको भोटेकोशी र त्रिशूली नदीमा प्रवेश गरेको थियो ।

प्रतिवेदनले यो विपत्तिलाई जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढेको जोखिमको उदाहरण मान्दै आगामी दिनका लागि महत्त्वपूर्ण प्राविधिक र नीतिगत सुझावहरू दिएको छ ।

नदीको पानीको सतह नाप्ने यन्त्र मात्र पर्याप्त नभएकाले उच्च हिमाली क्षेत्रमा हुने पहिरो र हिमपात तत्काल पत्ता लगाउन ‘स्याटेलाइट र सिस्मोग्राफ’मा आधारित पूर्वसूचना प्रणाली जडान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रभावित क्षेत्रको पुनर्निर्माण, नदी नियन्त्रण, विस्थापितको पुनस्थापन र राजमार्ग खुलाउनका लागि १ खर्ब ३ अर्ब भन्दा बढी बजेट आवश्यक पर्ने राष्ट्रिय योजना आयोगको प्रक्षेपण छ ।

नदी किनारका जोखिमयुक्त बजार (जस्तैः टिमुरे, स्याफ्रुबेसी, बेत्रावती) लाई सुरक्षित उच्च स्थानमा स्थानान्तरण गर्न एकीकृत विकास योजना लागू गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

Scroll to Top