बुलेट किन्न बचाएको साढे ५ लाख उद्धार कोषमा पठाएका डाक्टर भन्छन् – ‘सपना बेचें, मानवता कमाए’

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुधिर साहले आफ्नो व्यक्तिगत सपना पूरा गर्न जम्मा गरेको रकममध्ये रु. ५ लाख ५१ हजार १६१ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन्।

डेढदेखि दुई वर्षसम्म आफूले एउटा सपना पूरा गर्न रकम बचत गर्दै आएको भए पनि रसुवाको भोटेकोशी क्षेत्रमा आएको विपत्तिबाट प्रभावित परिवारको अवस्था देखेपछि उक्त रकम राहत तथा उद्धारका लागि सहयोग गर्ने निर्णय गरेको डा. साहले बताएका छन्।

उनका अनुसार व्यक्तिगत सपना पूरा गर्न बचत गरिएको रकम केही समयका लागि त्यागेर विपत्तिमा परेका परिवारलाई सहयोग गर्ने निर्णय गरेका हुन्।

‘बुलेट फेरि किन्न सकिएला, पैसा फेरि कमाउन सकिएला, तर गुमेको जीवन फर्काउन सकिँदैन,’ डा. साहले भनेका छन्।

उनले आफ्नो निर्णयलाई आर्थिक सहयोगभन्दा पनि विपत्तिको समयमा मानवतालाई प्राथमिकता दिएको प्रयासका रूपमा व्याख्या गरेका छन्। प्रभावित परिवारका लागि आफ्नो सहयोग आशाको सानो आधार बन्न सके आफ्नो अधुरो सपना पनि सार्थक हुने उनको भनाइ छ।

डा. साहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको उक्त सन्देशमा लेखेका छन्, ‘मैले आफ्नो एउटा सपना बेचेँ, तर मानवता किनेँ।’

डा. साह हाल सिटी अस्पताल, भैरहवामा कार्यरत छन् । यसअघि पनि विभिन्न बिरामीलगायतलाई निशूल्क स्वास्थ्य सेवा र नगद सहयोग गरेका साह परोपकारी चिकित्सककारुपमा चिनिन्छन् ।

Scroll to Top