महानगरबाट बाहिरिने लेखनाथको प्रयास, विशेष नगरसभमाको माग

लेखनाथ नगरपालिकाको पुनर्स्थापना अभियान तीव्ररूपमा अगाडि बढेको छ।

नगरपालिका पुनर्स्थापनाको लागि पोखरा महानगरपालिकाको विशेष नगरसभा बैठक बोलाउनका लागि हाल पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष ढकनाथ कँडेल र वडा नम्बर २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले महानगरपालिकाका मेयर धनराज आचार्य लाई हस्ताक्षर मार्फत विशेष नगरसभा बोलाएर लेखनाथ नगरपालिका पूर्ण स्थापनाको मागलाई नगरसभाबाट पास गर्न अनुरोध सहित पत्र पेश गरेका हुन्।

वडा अध्यक्षहरूले हाल १ तिहाई जनप्रतिनिधिहरूको हस्ताक्षर मार्फत विशेष सभा बैठक डाक्न पत्र पेश गरेका हुन्।

पत्र बुझ्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफूले कानुनी परामर्श गरी बैठक डाकेर माग भए बमोजिम नगरसभामा पेश गर्ने बताएका हुन् ।

साथै उनले कास्की जिल्लाभित्र कम्तीमा पनि १० वटा पालिका बनाउनको लागि आफूले पहल गरिरहेको बताएका हुन् ।

जति धेरै पालिका हुन्छ त्यति धेरै बजेट सुनिश्चित गर्न सहयोग पुग्ने हुनाले कास्की जिल्लामा पाँच पालिका मात्र नभई कम्तिमा पनि १० वटा पालिकाको अवधारणा अनुसार माग गरेर केन्द्र सरकार मार्फत प्रस्तुत गर्ने पनि आचार्यले जानकारी दिए।

लेखनाथ नगरपालिका पुनर्स्थापना अभियानका संयोजक शालिग्राम पौडेलले आफूहरूले समृद्ध विकास र समृद्ध लेखनाथ निर्माणमा लेखनाथ नगरपालिकाको विकल्प नभएको बताएका छन्।

Scroll to Top