‘खरानीबाट उठेर व्यवसायीको नेतृत्वमा पुगेको छु’ – उपाध्यक्ष थापा

हालै पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा निर्वाचित सौगात थापाले वर्षदिन अघिको सम्झना गर्दै केही भावुक प्रतिक्रिया दिएका छन् ।

जेन-जी आन्दोलनले खरानी भएको व्यवसायको पीडा सम्झँदै आफुसँगैको परिवार र कर्मचारीको जिम्मेवारीले पुनः उठ्नै पर्ने बाध्यता रहेको सामाजिक सञ्जालमा लेखेका छन् ।

थापाले भनेका छन् ‘एक वर्षअघि म खरानीबीच उभिएको थिएँ, आज त्यही खरानीबाट उठेर व्यवसायीहरूको नेतृत्व गर्ने ठाउँमा पुगेको छु। सायद समयले मलाई यही सिकाउन खोजेको थियो, परिस्थितिले हामीलाई तोड्न सक्छ, तर फेरि उठ्ने साहस हामी आफैँमा हुन्छ।’

फेसबुकमो उल्लेखित उनका भावः

एक वर्षअघि आजकै समय सम्झिँदा अझै पनि मन भारी हुन्छ। आगोले मेरो व्यवसाय मात्र जलाएन, वर्षौंको मेहनत, सपना र बाल्यकालसँग जोडिएका धेरै सम्झनाहरू पनि खरानी बनायो। त्यो पीडा सहजै बिर्सन सकिने थिएन । तर जीवनले एउटा कुरा सिकाउँदो रहेछ(ढलेपछि उठ्नु नै वास्तविक जित हो।

त्यो कठिन समयपछि मैले हार मानिनँ। आफैँलाई सम्हालें, फेरि व्यवसाय उठाएँ र अझ बलियो भएर अघि बढ्ने संकल्प गरें। किनकि मसँग जोडिएका कर्मचारी, परिवार र धेरै मानिसको विश्वासलाई बीचमै छोडेर बस्न सक्दिनथेँ।

आज, ठीक एक वर्षपछि, म पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनबाट उद्योग उपाध्यक्षमा निर्वाचित भएको छु। यो मेरो लागि केवल एउटा पद होइन, कठिन यात्रापछि प्राप्त भएको विश्वास, जिम्मेवारी र नयाँ सुरुवात हो।

एक वर्षअघि म खरानीबीच उभिएको थिएँ, आज त्यही खरानीबाट उठेर व्यवसायीहरूको नेतृत्व गर्ने ठाउँमा पुगेको छु। सायद समयले मलाई यही सिकाउन खोजेको थियो, परिस्थितिले हामीलाई तोड्न सक्छ, तर फेरि उठ्ने साहस हामी आफैँमा हुन्छ।

अब विगतको पीडालाई शक्तिमा बदल्दै, व्यवसायीको हित, रोजगारी सिर्जना र पोखराको आर्थिक समृद्धिका लागि इमानदारीका साथ काम गर्ने मेरो संकल्प हो।

खरानीबाट उठेको यो यात्रा अब नेतृत्व र कर्मको यात्रामा अघि बढ्नेछ। मलाई विश्वास गरि मत प्रदान गर्नुहुने सम्पूर्ण पोखरेली उद्योगी व्यवसायी साथीहरुप्रति हार्दिक आभार।

Scroll to Top