मित्रराष्ट्र भारतविरुद्ध तथानाम लेख्ने विशाल गुरुङ पक्राउ

काठमाडौंका विभिन्न सार्वजनिक स्थानहरूमा मधेशी समुदायलाई लक्षित गरी घृणा फैलाउने र सामाजिक सद्भावमा खलल पुर्‍याउने शब्दहरू लेख्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङ जिल्लाको बाक्सिला नगरपालिका वडा नं. १५ घर भई हाल काठमाडौं महानगरपालिका(३१ शंखमूल बस्ने ३५ वर्षीय विशाल गुरुङ रहेका छन्।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको विशेष टोलीले शंखमूलबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार गुरुङले काठमाडौंका विभिन्न ठाउँमा मधेशी समुदायप्रति लक्षित गर्दै द्वन्द्व भड्काउने र साम्प्रदायिक सहिष्णुतामा आँच पुग्ने खालका अभिव्यक्तिहरू भित्तामा लेख्ने गरेका थिए। यस्ता गतिविधिमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीले उनलाई फेला पारेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार, पक्राउ परेका गुरुङमाथि ‘सार्वजनिक शान्ति खलल पार्न नहुने’ कसुर अन्तर्गत मुद्दा दर्ता गरी प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ।

प्रहरीले सामाजिक एकता र सद्भावमा खलल पुर्‍याउने कुनै पनि प्रकारका अवाञ्छित क्रियाकलाप नगर्न र यस्ता गतिविधि गर्नेलाई कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ।

Scroll to Top