सहारा क्लब पोखराले प्रदान गर्ने सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार रोहितराज पराजुली सम्मानित हुने भएका छन्।
क्लबको प्रतिभा छनोट समितिको सिफारिसमा उनलाई यस वर्षको पुरस्कार दिने निर्णय गरिएको हो। ३० हजार ५ सय २५ रुपैयाँ राशिको यो पुरस्कार क्लबको वार्षिकोत्सवका अवसरमा प्रदान गरिने छ।
क्लबका अध्यक्ष केशवबहादुर थापाले पराजुलीलाई पुरस्कार दिने निर्णय भएको जानकारी दिए। मानार्थ सदस्य नारायण कार्की संयोजक रहेको छनोट समितिले उनको नाम सिफारिस गरेको थियो।
समितिमा दीपेन्द्र श्रेष्ठ, माधव बराल, एमबी आस्था, मिलन गुरुङ, केशवराज बराल, पूर्णबहादुर गुरुङ र गंगाराज पौडेल सदस्य थिए।
पोखरा–१ का बासिन्दा पराजुली हाल नयाँ पत्रिका दैनिकमा कार्यरत छन्। उनले २०६१ सालमा आदर्श समाज दैनिकबाट विद्यार्थी पत्रकारिता सुरु गरेका थिए।
उनले यसअघि युवा तथा खेलकुद मन्त्रालयको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार पाइसकेका छन्। त्यस्तै उनले उत्कृष्ट खेल पत्रकार अवार्ड र अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार समेत जितेका छन्।
फुटबलमार्फत सामाजिक सेवामा सक्रिय सहारा क्लबले खेल क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रोत्साहन गर्न बर्सेनी यो पुरस्कार प्रदान गर्दै आएको छ। ‘खेलकुद गतिविधिलाई प्राथमिकता दिएर समाचार लेख्ने पत्रकारलाई हामीले सम्मान गर्दै आएका छौं,’ अध्यक्ष थापाले भने। क्लबले यसपटक पुरस्कारको राशिमा समेत वृद्धि गरेको उनले बताए।
पुरस्कार २०६३ सालमा स्थापना गरिएको हो। खेल पत्रकारिता विधामा यो नेपालकै पहिलो पुरस्कार भएको क्लबको दाबी छ।
यसअघि यो पुरस्कारबाट २० जना पत्रकार सम्मानित भइसकेका छन्। क्लबले आफ्नो वार्षिकोत्सवको अवसर पारेर औपचारिक कार्यक्रममा पराजुलीलाई पुरस्कार र सम्मानपत्र प्रदान गर्ने छ।







