पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशन तथा ७२ औं साधारण सभा आजदेखि सुरु हुँदैछ । भोलीसम्म चल्ने महाधिवेशनको उद्घाटन आज बिहान ११ बजे नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले गर्ने तालिका रहेको छ ।
बिहीबार साँझसम्म चार उम्मेदवाबीच सहमति भई अध्यक्षको उम्मेदवारी घट्ने कसरत गरे पनि अन्ततः कुरा नमिलेपछि यसपटक ४ उम्मेदवार नै प्रतिष्पर्धामा उत्रिएका छन् ।
अध्यक्ष पदका लागि अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतम चुनावी मैदानमा उत्रिएका छन् । उनीहरूमध्ये गौतम र आचार्य प्यानलसहित प्रतिस्पर्धामा छन् ।
७ दशक लामो यात्रामा पोखरा उद्योग वाणिज्य संघले पोखराको सहरीकरण र आर्थिक विकासको नेतृत्व गरेको छ । २ हजार ७ सय ३१ भन्दा बढी व्यवसायीहरू आबद्ध रहेको संघको नेतृत्व चयनले गण्डकी प्रदेशको समग्र व्यावसायिक वातावरणमा गहिरो प्रभाव पार्दछ ।
पोखरा उद्योग वाणिज्य संघ पोखरा र समग्र गण्डकी प्रदेशकै सबैभन्दा पुरानो तथा अग्रणी संस्था हो । २०११ सालमा अमृतप्रसाद शेरचनको अध्यक्षतामा संघको स्थापना भएको थियो ।
२००७ सालको प्रजातान्त्रिक परिवर्तनपछि पोखरा क्षेत्रमा व्यापार–व्यवसायलाई संगठित बनाउन र स्थानीय उद्योगी–व्यवसायीका समस्यालाई सरकारसमक्ष पु¥याउने उद्देश्यले यो संस्था खडा गरिएको थियो ।
नयाँ नेतृत्वका लागि अध्यक्षका उम्मेदवार बुद्धाचार्य वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन् भने आचार्य वाणिज्यतर्फका उपाध्यक्ष र गौतम महासचिव हुन् । पोखरेल यसअघि पनि अध्यक्ष पदमा दुई पटक प्रतिस्पर्धा गरिसकेका व्यक्ति हुन् ।
वरिष्ठ उपाध्यक्ष पदका लागि गौतम प्यानलबाट टीकाराम सुवेदी र आचार्य प्यानलबाट दिनेशचन्द्र बास्तोला मैदानमा छन् । उपाध्यक्ष (उद्योग) तर्फ गौतम समूहका सौगात थापा र आचार्य समूहका ललितबहादुर कुँवर प्रतिस्पर्धा गर्दैछन् ।
त्यसैगरी उपाध्यक्ष (वाणिज्य) पदमा गौतम समूहका भीम गौतम र आचार्य समूहका मनोजकुमार श्रेष्ठ जुध्दैछन् । महासचिव पदमा गौतम पक्षबाट तारानाथ ढुंगाना र आचार्य पक्षबाट सुदीप प्रधानांग प्रतिस्पर्धामा उत्रिएका छन् ।
कोषाध्यक्ष पदका लागि गौतम समूहबाट जीवनप्रकाश श्रेष्ठ र आचार्य समूहबाट देवेन्द्र प्रजु चुनावी मैदानमा छन् । उपमहासचिवमा गौतम प्यानलका यादवप्रसाद पोखरेल र आचार्य प्यानलका प्रदीप राजभण्डारीबीच प्रतिस्पर्धा हुँदा रामचन्द्र तिमिल्सिनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् ।
खुला सदस्यतर्फ १० जनाका लागि १३ जनाको उम्मेदवारी परेको छ ।
खुला सदस्यका उम्मेदवारहरू अमृत पोखरेल, कमलबहादुर सुनार, गोविन्दबहादुर केसी, दिलीपकुमार श्रेष्ठ, दुर्गा बराल, नवीन नापित, निर्मला चापागाईं, भानुभक्त अधिकारी, मनहरि पौडेल, रामप्रसाद कँडेल, रामेश्वर अधिकारी, सूर्यराज घिमिरे र हरिप्रसाद अधिकारी हुन् । उनीहरू कुनै पनि गुट वा प्यानलमा आबद्ध छैनन् ।
यस्तै वस्तुगततर्फ ४ जना र औद्योगिक सदस्यतर्फ १ जनाको आवश्यकता परेकोमा माग बमोजिम मात्रै उम्मेदवारी परेको छ । वस्तुगत सदस्यतर्फ केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकालको उम्मेदवारी परेको छ भने औद्योगिक सदस्यमा पीताम्बर अधिकारीको मात्र उम्मेदवारी परेको छ ।







