पोखरा महानगरपालिका वडा नं. १६, अम्बिका टोलस्थित अम्बिका आमा समूहले यस वर्षको हरितालिका तीज नमनाई बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ।
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको घाउमा मल्हम लगाउने उद्देश्यले समूहले तीजको भोजभतेर र तडकभडक त्यागेर संकलन गरेको १ लाख ८ हजार ८४५ रुपैयाँ ‘प्रधानमन्त्री राहत तथा उद्धार कोष’मा पठाएको हो।
समूहका सदस्यहरूले जिल्ला प्रशासन कार्यालय कास्की पुगेर प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ र सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालमार्फत उक्त रकम हस्तान्तरण गरे।
रकम हस्तान्तरण गर्दै समूहका प्रतिनिधिले बाढीमा परी ज्यान गुमाउनेहरूको आत्माको चिर शान्तिको कामना समेत गरेका छन्।
यस वर्ष बाढी र पहिरोका कारण देशका विभिन्न भागमा ठुलो जनधनको क्षति भएकाले उत्सव मनाउनुको साटो पीडितको आँसु पुछ्ने प्रयास गरिएको समूहले बताएको छ।
‘दुःखको बेलामा रमाइलो र भोजभतेर भन्दा पनि समस्यामा परेकाहरूलाई सहयोग गर्नु नै वास्तविक धर्म हो भन्ने सन्देश दिन हामीले यो निर्णय गरेका हौँ,’ समूहका पदाधिकारीले बताए।
चाडपर्वमा हुने फजुल खर्चलाई जोगाएर सामाजिक कार्यमा लगाउन सकिन्छ भन्ने उदाहरणीय सन्देश अम्बिका आमा समूहले दिएको प्रमुख जिल्ला अधिकारीले बताए।
सामाजिक उत्तरदायित्वको यो कामले अन्य संघ(संस्थाहरूलाई पनि पीडितको सहयोगमा जुट्न प्रेरणा मिल्ने उनले बताए।







