कास्कीको पोखरा महानगरपालिका वडा नं. १८ स्थित फेवातालमा कार खस्दा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आज (बुधबार) बिहान करिब ४:५० बजेको समयमा सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको BR05BB6759 नम्बरको भारतीय कार गैरी चौतारा घुम्ती नजिकै सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको थियो ।
दुर्घटना लगत्तै वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल नेपाल नं. २४ हेक्का कालिका गणबाट खटिएको संयुक्त प्रहरी टोलीले उद्धार कार्य सुरु गरेको थियो । कारमा सवार ४ जना पुरुषहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) पठाइएको थियो ।
अस्पताल पुर्याइएकामध्ये दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका छन् । मृत्यु हुनेमा भारतको बिहार प्रदेश, पूर्वी चम्पारण जिल्ला रक्सोलका २६ वर्षीय नवदीप कुमार यादव र २६ वर्षीय प्रियान्सु पाण्डे रहेका छन् ।
त्यसैगरी, दुर्घटनामा परी भारत बिहारकै रक्सोल घर भएका २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादव घाइते भएका छन् । उनीहरूको हाल सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले फेवातालमा खसेको कारलाई क्रेनको सहायताले बाहिर निकालेको छ । घटनाको बारेमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।







