पोखरा । दौतरी समूह रामबजारको आयोजनामा ‘दोस्रो दौतरी कप विद्यालयस्तरीय फुटसल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ ।
आगामी भदौ १९ गतेदेखि २१ गतेसम्म पोखरा रंगशालास्थित मल्टिप्रपोज कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
खेलकुदको माध्यमबाट विद्यार्थीहरूबीच एकता, आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको दौतरी समूहका अध्यक्ष मनोज गुरुङले बताए ।
प्रतियोगितामा यस वर्ष ४६ वटा विद्यालयले सहभागिता जनाइसकेका छन । आयोजकका अनुसार प्रतियोगिताको टाइ–सिट आज बेलुकासम्म सार्वजनिक गरिनेछ ।
प्रतियोगितामा प्रथम हुने विद्यालय वा टोलीले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले नगद ३३ हजार ३ सय ३३ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै, अनुशासित खेल प्रदर्शन गर्ने टोलीलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित फेयर प्ले पुरस्कारप्रदान गरिने प्रतियोगिता संयोजक तेजेन्द्र दाहालले जानकारी दिए ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन टोली दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ ।
प्रतियोगिताको पहिलो संस्करणमा हेमजा बोर्डिङ स्कुल प्रथम भएको थियो ।
दौतरी कपलाई भविष्यमा अझ बृहत् बनाउँदै ११ ए साइड फुटबल प्रतियोगिताका रूपमा समेत सञ्चालन गर्ने लक्ष्य रहेको समूहका अध्यक्ष मनोज गुरुङले बताए । विद्यालयस्तरीय खेलकुदको विकाससँगै सामाजिक सेवाको उद्देश्यलाई समेत अगाडि बढाउने सोचका साथ प्रतियोगिताको सुरुवात गरिएको उनले जानकारी दिए ।
प्रतियोगिता खेलकुदमा मात्र सीमित नरही यसको मुख्य उद्देश्य सामाजिक सेवा तथा परोपकारसमेत रहेको अध्यक्ष गुरुङले बताए । उनका अनुसार प्रतियोगिताबाट बचत हुने रकम फरक क्षमता भएका व्यक्तिहरू, क्यान्सर पीडित तथा जेहेन्दार एवं विपन्न विद्यार्थीहरूको सहयोगार्थ खर्च गरिनेछ ।
साथै, संस्थाको आर्थिक कोषलाई मजबुत बनाउँदै स्थानीय स्तरमा मानव सेवा आश्रममा भोजन सेवा, शैक्षिक सामग्री वितरण तथा विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रम आयोजना गर्ने समूहको भावी योजना रहेको छ ।
पत्रकार सम्मेलनमा प्रतियोगिताका मुख्य प्रायोजक तथा सल्लाहकार बिनिता थापा र सहप्रायोजक तथा रामबजार हङकङका संस्थापक रक्षा गुरुङले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम समूहका सचिव थमन बहादुर थापाले सञ्चालन गरेका थिए ।







