पोखराको नदीपुरस्थित ज्ञानभूमि माध्यमिक विद्यालयलका विद्याार्थी र शिक्षकहरुले १५ हजार ८१५ रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिएका छन् ।
अघिल्लो बुधबार रसुवाको भोटेकोशी बाढीमा परी विपद्को सामना गरिरहेका परिवारको सहयोगार्थ रकम संकलन गरिएको हो ।
आज प्रार्थना समयमा विद्यालयले विद्यार्थीबाट गच्छेअनुसारको नगद संकलन गरेको थियो । त्यसपश्चात् शिक्षक र कर्मचारीले नगद सहयोग गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम सापकोटाले शिक्षक, कर्मचारी र विद्यार्थीबाट ५ हजार ८ सय १५ रुपैयाँ संकलन गरिएको जानकारी दिए ।
त्यस्तै, विद्यालयको जुनियर रेडक्रस सर्कलद्वारा १० हजार रुपैयाँ थप गरिएको उनले जनाए ।
संकलित रकम आजै नेपाल राष्ट्र बैंकको तेर्सापट्टी शाखामार्फत कोषमा जम्मा गरिदिएको प्रधानअध्यापक सापकोटाले बताएका छन् ।
साथै, विद्यालय परिवारले मृतकको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।







